Wednesday, December 5, 2007

सहमति हूने सम्भावना

नेपाली कांग्रेस र माओवादी नेताहरुले दुवै दल लचिलो हुँदै गएकाले सहमतिको सम्भावना अत्याधिक रहेको बताएका छन् । 

नेपाली कांग्रेस र माओवादीबीच वार्ता भएकै दिन ती पार्टीका दुई नेताहरुले जारी राजनीतिक बिबाद छिटै समाधान हुने बताएका छन् । राजधानीमा रिपोर्टस क्लबको कार्यक्रममा मङ्सिर १९ गते बोल्दै माओवादी वरिष्ठ नेता सीपी गजुरेल र नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सहमतिका लागि दुवै दल लचिलो रहेकाले सहमतिको सम्भावना धेरै रहेको उल्लेख गरे ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा माओवादीसँगका यसअघिका वार्तामा सहभागि हुँदैआएका डा. शेखर कोइरालाले आफ्नो पार्टी लचिलो रहेको तथा माओवादीले पनि केही माग छाडेकाले सहमतिको सम्भावना बढेको बताए । तर, कोइरालाले माओवादीले कुन माग छाडेको भन्ने उल्लेख भने गरेनन् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाका लागि आफ्नो पार्टी तयार रहेको उल्लेख गर्दै कोइरालाले गणतन्त्र कार्यान्वयन संविधानसभा पहिलो बैठकबाट मात्र हुने पार्टीको अडान दोहोर्‍याए । 'पूर्ण समानुपातिकमा नेपाली कांग्रेस कुनै हालतमा जाँदैन' कोइरालाले भने, 'जातीय आधारमा पूर्ण समानुपातिक हुँदा मुलुक टुक्रिन्छ ।'
माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले माग पूरा भए चैतमा मात्र होइन, फागुनमै चुनाव गर्न पनि आफ्नो पार्टी तयार रहेको बताए । माओवादी वैधानिक ढंगमै चल्न खोजेको बताउदै गजुरेलले संसदबाट पारित प्रस्ताव कार्यान्वयन नगरिए तथा सहमति र सम्झौता पालना नभए मात्र माओवादी सडक आन्दोलनमा जाने उल्लेख गरे ।
प्रचण्डले मङ्सिर १८ गते राष्ट्रवादीसँग एकताको बिषयमा बोलेकोमा स्पष्टिकरण दिँदै गजुरेलले राजा पलायन भएपछि राष्ट्रवादी पनि निरास भएर पलायन हुनसक्ने भएकाले त्यसो भनिएको बताए । गजुरेलले आफ्नो पार्टीको अमेरिकालगायत बिदेशीहरुसँग बिस्तारै सम्बन्ध सुधार हुँदै गरेको उल्लेख गरे । उनले चिनसँग भारत नचिडिने गरी तथा भारतसँग चिन नचिडिने गरी पार्टीले सम्बन्ध राख्ने पनि कार्यक्रम बताए ।

No comments: