Thursday, December 6, 2007

छिट्टै चुनाव हुनुपर्नेमा युरोपेली संघको जोड

नेपालको भ्रमणमा आएको युरोपेली संघको एउटा टोलीले संविधानसभाको चुनाव सम्पन्न गर्दै शान्ति प्रक्रियालाई अघि बढाउन आव्हान गरेको छ।
ईयु ट्रोईका भनिने सो टोलीका सदस्यहरुले नेपालमा शान्ति प्रक्रिया र विकास कार्यक्रमहरु पनि सँगसँगै जानु पर्ने कुरामा जोड दिएका थिए।
बढ्दो अस्थिरताले देशका शहर तथा गाँउमा अत्यावश्यक सेवा र विकास कार्यक्रमहरु समेत प्रभावित भइरहेको खबरहरु आईरहंदा नेपालको एउटा प्रमुख दातृ निकायको त्यस्तो धारणा सार्वजनिक भएको हो।
ईयु टोलीको यो भ्रम‌ण नेपालको शान्ति र प्रजातान्त्रिकरणको प्रक्रियाप्रति चासो राख्ने विदेशी राष्ट्रहरुका अधिकारीहरुको भ्रमण जारी रहेका बेलामा भएको थियो।
टोलीका सदस्यहरुले प्रधानमन्त्रीदेखि राजनीतिकदलका नेताहरु, निर्वाचन आयोग र अन्य सरकारी अधिकारीहरुसंग भेटघाट गरेका थिए।
भ्रमणको अन्त्यमा एउटा पत्रकार सम्मेलनमा बोल्दै ट्रोईकाको नेतृत्व गरेका पेद्रो मोईतिन्हो दे अलमेईदाले नेपालको समग्र स्थितिप्रति चिन्ता व्यक्त गरे।
‘समावेशी’
उनले शिघ्र निर्वाचन सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको स्थिति सुधार्न ठोस कदमहरु चाल्नु पर्ने सुझाव दिए।
अलमेईदाले भने, “यदि हिंसाको खतरालाई कम गर्दै विश्वसनीय चुनाव सम्पन्न गराउने हो भने सीमान्तिकृत समुदायका चिन्ताहरुलाई कम गर्नु पर्छ। नयाँ नेपाल समावेशी नेपाल हुनु पर्छ।”
नेपालको हितका लागि उनको अर्को सुझाव थियो, “शान्ति प्रक्रिया र विकास सँगसँगै जानु पर्ने कुरा हुन्। नेपाली जनताहरुले अत्यावश्यक सुविधाहरुको उपभोग गर्दै उल्लेखनीय सुधार भएको हेर्न चाहन्छन्।
“यदि उनीहरुको परिवर्तनको चाहाना पुरा भएन भने त्यसले नेपालको दिर्घकालीन स्थायित्वमा नै गम्भीर खतरा पुर्‍याउने छ।”
गणतन्त्र
पत्रकार सम्मेलनमा एक जना स‌म्वाददाताको प्रश्न थियो: चुनाव अगाडी नै गणतन्त्र घोषणा गरेमा के हुन्छ, तपाइँहरुको नजरमा वैध हुन्छ की हुँदैन?
त्यस्को जवाफमा अलमेईदाले भने, “यदि यसरी संविधानसभाको चुनाव हुन गइरहेको भए यूरोपेली समुदायका कुनै पनि राष्ट्रले यस्तो कदम चुनावअघि नै लिन्छन् भन्ने कुराको म कल्पना पनि गर्न सक्दिन।”
परराष्ट्र मामिलाविदहरुले ईयुको यस्तो सुझावलाई सातदलीय सरकारले ग्रहण गर्नुपर्ने बताएका छन्।
एकजना पू्र्व नेपाली राजदूत दुर्गेशमान सिंहले बीबीसीसंग भने विदेशी मित्रराष्ट्रहरुकै नैतिक सहयोगमा नेपालमा दुई वर्षअघिको १९ दिने जनआन्दोलन सफल भएको हो।

No comments: