Wednesday, December 5, 2007

ईयुको टोली भेटघाटमा व्यस्त

छलफल र सहयोग पुर्‍याउने उदेश्यले नेपालको चार दिने भ्रमणमा रहेको युरोपेली युनियन ईयुको ट्रोइका टोलीले आज पनि राजनैतिक भेटघाटलाई जारी राखेको छ ।
टोलीले आज बिहान प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासँग भेटवार्ता गरेको छ भने आजै एमाले महासचिवको टोलीसँगपनि भेटघाट गरेको छ । टोलीले आजै माओवादी अध्यक्ष प्रचण्डसँगपनि भेटघाट गर्ने जनाईएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान करिव आधाघण्टा भएको भेटवार्तामा प्रधानमन्त्री कोइराला र ट्रोइका टोलीबीच नेपालको जारी शान्ति प्रक्रिया र संबिधानसभाको चुनावबारे छलफल भएको थियो । कुराकानीका क्रममा ट्रोईका टोलीले संबिधानसभाको निर्वाचन छिटो सम्पन्न गर्न प्रधानमन्त्री कोइरालासँग आग्रह गरेको बताईएको छ । संबिधानसभाको निर्वाचन जति सक्दो छिटो सम्पन्न गरि नेपाली जनताको भावनाको कदर गर्नुपर्ने र यसका लागि ईयुले आफ्नो सहयोग जारी राख्ने बारेमा कुराकानी भएको भेटपछि ट्रोईका टोलीका संयोजक पेट्रोले संवाददाताहरुलाई जानकारी दिनु भयो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति प्रक्रिया गन्तव्य सम्म पुर्‍याउन सात दलिय गठबन्धन क्रियाशिल रहेको र छिट्टैनै दलहरु बीचको सहमतिमा निर्वाचनको मिति घोषणा गरी संबिधानसभाको निर्वाचनमा जाने तयारी भैरहेको प्रधानमन्त्रीले टोलीलाई जानकारी गराउनु भएको थियो ।
एमालेका महासचिव नेपालसँगको भेटमा सो टोलीले संबिधानसभाको निर्वाचन पटक - पटक स्थगित हुनु को कारणबारे जिज्ञासा राख्दै शान्ति प्रक्रियालाई सार्थक बिन्दुमा पुर्‍याउनु पर्नेमा जोड दिएको एमालेले जनाएको छ । एमाले महासचिव माधव कुमार नेपालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन आफुहरु प्रयत्नशिल रहेको जानकारी दिदै सातदलको एकता र सहमतिले मुलुकको निकास पाउने बिश्वास व्यक्त गर्नुभएको थियो ।

No comments: