गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जनमुक्ति सेनाको प्रमाणीकरण सकेर मात्र सेना समीकरणका विषयमा सोच्नसकिने बताउनुभएको छ ।
बिबिसी नेपाली सेवाद्वारा आज यहाँ आयोजित साझा सवाल कार्यक्रममा गृहमन्त्री सिटौलाले शान्ति सम्झौतामा नै प्रमाणीकरणपछि मात्रै नेपाली सेना र जनमुक्ति सेनाको समायोजन गरिने उल्लेख भएकाले अहिले सेना समायोजनको कुरा उठाउनु निरर्थक भएको बताउनुभयो ।
मन्त्री सिटौलाले संयुक्त राष्ट्र सङ्घले आफूहरुलाई हाल विभिन्न शिविरमा रहेका जनसेनामध्ये ६० प्रतिशतको मात्र प्रमाणीकरण हुने योग्यता भएको उल्लेख गरेकाले राष्ट्र सङ्घको प्रतिवेदनपछि मात्रै सुरक्षा नीति बनाएर सेना समायोजनको प्रक्रिया अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।
गृहमन्त्री सिटौलाले सरकारले सुरक्षासम्बन्धी चुनौती अहिले व्यापकरुपमा सामना गर्नुपरेको स्वीकार्दै समग्र देशको शान्तिसुरक्षा सुदृढ गर्नका लागि प्रहरीको सङ्ख्या थप गर्नुपर्ने बताउनुभयो ।
चितवनको जुटपानी र नवलपरासीको झ्यालटुङडाँडा शिविर नजिकबाट आएका सर्वसाधारणले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री सिटौलाले शिविरका कारण जनतालाई अप्ठेरो परेको भए सरकार आफैँले निरीक्षण गरी समस्याको समाधान गर्ने बताउनुभयो ।
मन्त्री सिटौलाले माओवादीले राखेको प्रस्तावले संवैधानिक व्यवस्थामाथि नै चुनौति खडा गरेकाले संविधानसभाको चुनाव अनिश्चित बनेको हो भन्नुभयो ।
यसैबीच नेपाली काङ्ग्रेस चितवनले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री सिटौलाले देशमा शान्ति स्थापनाको लागि अहिले काङ्ग्रेस संयम भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका पार्टी कार्यकर्ताले गृहमन्त्री सिटौलालाई माओवादी ज्यादती बढेको तथा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा माओवादी हावी भएको जस्ता गुनासा गरेका थिए ।
आजै मन्त्री सिटौलाले चितवनका कार्यालय प्रमुखहरुलाई पनि निर्देशन दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment