Friday, December 7, 2007

वाइसिएलद्वारा घर कब्जा

७ डिसेम्बर, ०७ । नेकपा माओवादीनिकट वाइसिएलले तिलबहादुर खड्काको तुलसीपुरस्थित घर झण्डै छ महिना अघिदेखि कब्जा गरी उपयोग गरिरहेका छन् । बजारमा रहेको उक्त घरबाट उठ्ने भाडा वाइसिएलले बुझनेगरेको छ भने खड्का परिवारसंग रु १५ लाख चन्दा मागिरहेको छ । पिडित तिलबहादुर खड्काले माओवादी डेपुटी कमाण्डर प्रभाकरलाई भेटी त्यसबारे जानकारी गराउदा घर छाड्न लगाउने भनेपनि व्यवहारमा नउतारिएको गुनासो गर्नुभयो । उहांले आफूमाथि धम्की आउने क्रम जारी रहेको भन्दै चन्दा नदिएसम्म घर कब्जा गरिराख्ने भनिएको बताउनुभयो । उहांले भन्नुभयो,'वाइसिएल कार्यकर्ताले मलाई मार्नेसम्मका धम्की दिएका छन् ।' आफूमाथि अन्याय भएपछि सात राजनीतिक दल, मानवअधिकारवादी संघसंस्था, नागरिक समाजलगायत विभिन्न निकायमा धाउदा पनि न्याय नपाएको उहांको भनाई थियो । खड्काका अनुसार १८ अषारबाट घर कब्जामा लिएयता आफू काठमाडौंमा बस्दै आएको बताउनुभयो । उहांले भन्नुभयो,'तीन महिनादेखि भाडा तिरेको छैन, म सुकुम्वासीको जीवनयापन गर्न वाध्य छु ।'

No comments: