Wednesday, December 19, 2007
राजधानीबाटै उद्योगपति अपहृत
उद्योगपति महेश मुरारकालाई एक अज्ञात समूहले सोमबार राति बत्तीसपुतलीबाट अपहरण गरी बेपत्ता बनाएको छ। नेपालको प्रतिष्ठित उद्योग पशुपति पेन्ट्सका साझेदारसमेत रहनुभएका मुरारकालाई अपहरणकारीले कार्यालयको काम सकेर घरतर्फजाँदै गर्दा गाडी रोकेर अपहरण गरेका थिए।भाडाको गाडीमा आएका अपहरणकारीले उद्योगी मुरारका चढेको गाडी हतियार देखाएर नियन्त्रणमा लिई उहाँका चालक शिव शाहीलाई आक्रमण गरी घाइते बनाएपछि अपहरण गरेको प्रहरीले दाबी गरेको छ।भारतबाट आएका अपहरणकारीको समूहले उद्योगी मुरारकालाई अपहरण गरेको आशंका गरिएको छ। अपहरणकारीको समूहले अपहृत मुरारकाको परिवारलाई भारतीय मोबाइल नम्बरबाट पटकपटक फोन गरी फिरौती रकम मागेको बताइएको छ।अपहरणकारी समूहले मुरारकालाई बत्तीसपुतलीबाट उहाँकै बा४च ३२९८ नम्बरको गाडीमा राखेर लगेको र उक्त गाडीलाई तिलगंगा पुलनजिकै बेवारिसे अवस्थामा छाडेर हिँडेको थियो।प्रहरीले मुरारकाको गाडीबाट दुईवटा गोलीको खोका बरामद गरेको छ भने गाडीको सिटमा रगत लत्तपतिएको पाइएकाले मुरारका घाइते भएको अनुमान प्रहरीको छ।उद्योगी मुरारकाको खोजीका लागि विशेष टोली गठन गरेर खोजी कार्य तीव्र बनाएको बताउने प्रहरीले मुरारकालाई अपरहण गरी उपत्यकाबाहिर लगिसकेको अनुमान गरेको छ।उहाँको खोजीका लागि भारतीय प्रहरीको समेत सहयोग लिएको प्रहरीले जनाएको छ।यसैबीच उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई सोमबार भेटी उद्योगी मुरारकाको सकुशल रिहाइ र शान्तिसुरक्षा अमनचैन कायम राख्न आग्रह गरेका छन्।जबाफमा गृहमन्त्री सिटौलाले उद्योगी मुरारकाको खोजीका लागि प्रहरी टोली परिचालन गरिसकिएको जानकारी दिनुभएको थियो।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment