Tuesday, December 11, 2007

राप्रपा अध्क्षयमा राणा निर्विरोध विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीको चौथो महाधिवेशनको दोस्रो दिन सोमबार आगामी केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार दर्ता भएको छ।

अध्यक्ष पदमा पशुपतिशमशेर राणाको मात्रै उम्मेदवारी परेकाले उहाँ दोस्रो कार्यकालका लागि पनि निर्विरोध निर्वाचित हुनुभएको छ। २५ जना केन्द्रीय सदस्यका लागि ७० जनाको उम्मेदवारी परेको छ।



२० जना केन्द्रीय सदस्यका लागि ५४ जनाको उम्मेदवारी दर्ता भएको छ भने पाँच जना महिला आरक्षणमा १६ जनाको उम्मेदवारी परेको पार्टीका सहमहामन्त्री खेमराज पण्डितले जानकारी गराउनुभएको छ। अध्यक्षसहित २५ केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनबाट र २५ जना पछि अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।


केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनेहरूमा जोगमेहर श्रेष्ठ, परशुराम खापुङ, सूर्यबहादुर केसी, भरत गिरी, भरतबहादुर चन्द, विमल श्रीवास्तव, धवलशमशेर राणा, ठाकुर शर्मा, खेमराज पण्डित, जयन्त चन्द, ध्रुवबहादुर प्रधान, दीपक बोहरा, रामविलास यादव, जनक कार्की, विक्रम पाण्डे, दिलीप राई, नगेन्द्र चौधरी, प्रतिभा राणा, मीना सुवेदी, दुर्गा राणा, मोहन मल्ल, कलेन्द्र शाही, सावित्री रिजाल, प्रेमबहादुर भण्डारी, अकबाल साह, बलबहादुर केसीलगायत छन्। आज अपराह्नदेखि मतदान हुने कार्यक्रम छ।


सोमबारको बन्दसत्रमा राजनीतिक, मधेसी, जनजाति, आर्थिक एवम् विधान संशोधनसम्बन्धी प्रस्ताव एवम् कार्यक्रममाथि छलफल भयो। छलफलका क्रममा केही प्रतिनिधिले राजाका बारेमा निर्णय जनमतसंग्रहबाट गर्नुपर्ने प्रस्ताव राखेका थिए।

No comments: