Wednesday, December 19, 2007

'नेपाल-भारत सीमा नक्सा तयार'

सुस्ताबाहेकका सीमानाका सबै नक्साहरु प्रामाणिक तवरबाट पहिलो पटक तयार पारिएको अधिकारीहरुले जनाएका छन्।
भारतको राजधानी दिल्लीमा आयोजित दुई देशका सर्भे अधिकारीहरुको बैठकले विवादित ती दुई क्षेत्रबाहेक दुई देशबीचको सीमानाको सबै १८२ नक्साहरु छापी सार्वजनिक गर्ने निर्णय गरेको हो।
वैज्ञानिक ढंगबाट कम्प्युटरको सहायताबाट बनाइएका ती नक्साहरुले आउंदा दिनहरुमा सीमा विवाद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अधिकारीहरु बताउंछन्।
बैठकमा भाग लिन आएका एकजना नेपाली अधिकारी, राजाराम छतकुलीका अनुसार नेपाल र भारतबीचको १० गजा अन्तर्गत साना र ठूला गरी झन्डै ८,००० सीमा स्तम्भहरु पनि नक्सांकनका क्रममा यकीन गरिएको छ।
कुनै स्तम्भ खोलाले बगायो भने या कुनै कारण विवादमा आयो भने फेरि स्थापना गर्नसक्ने आधार खडा भएको अधिकारीहरुको विश्वास छ।
सीमा विवाद
छतकुलीले भने, “नयां नक्साका आधारमा कुन स्तम्भ कहां थियो भन्ने अब यकीन गर्न सकिने छ र आउंदा दिनहरुमा सीमा विवादपनि यीनै नक्साहरुका आधारमा सल्टाइने छ।“
अधिकारीहरुका अनुसार प्रामाणिक यस्ता नक्साहरुको अभावमा यसअघि नेपाल र भारतबीच थुप्रै सीमासम्बन्धी समस्याहरु देखिएका थिए।
सुस्ता र कालापानीको सीमा विवादसम्बन्धमा दुबै देशका तर्फबाट गठित संयुक्त प्राविधिक समिति भने समस्याको हल खोज्न असफल भएको छ।
सहसचिवस्तरीय सो समितिको यसअघि तीस पटक बैठक बसीसकेको छ।
बुधबार दिल्लीमा बस्ने सो समितिको बैठकमा यी विवाद सुल्झाउन एउटा स्थायी प्रकृतिको अंग खडा गर्न भारतसमक्ष प्रस्ताव राखिन लागेको जानकारी नेपाली अधिकारीहरुले दिएका छन्।
महाकाली नदीलाई दुबै देशको सीमा मानिएपनि त्यसको उद्गमस्थल कालापानी क्षेत्र वरपर कहां हो भन्ने बारेमा दुबै देशबीच अझै सहमति बन्न नसकेका कारण त्यस क्षेत्रको नक्सा तयार हुनसकेको छैन।
यसैगरी गण्डकी नदीले आफ्नो पुरानो बहावमा ल्याएको परिवर्तनका कारण सुस्ता क्षेत्रमा दुबै देशकातर्फबाट अतिक्रमण र कब्जाका दावीहरु आइरहेकाले सीमांकन हुनसकेको छैन।

No comments: