Sunday, January 6, 2008

चुनावको मिति पुष अन्तिममा घोषणा हुने

मन्त्री परिषदको आजकै बैठकले संविधानसभा चुनावको मिति तोक्ने आशा गरिए पनि मन्त्रीहरुले चुनावको मिति पुष अन्तिममा मात्र घोषणा गरिने बताए । 
मन्त्री परिषदको पुष २२ गते भएको बैठकले संविधानसभा चुनाव चैत अन्तिममा हुनेगरी पुष अन्तिममा घोषणा गर्ने सहमति गरेको गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन् । चुनावको तयारीका लागि ९० दिन चाहिने निर्वाचन आयोगले भनाइ रहेकाले मन्त्री परिषदको आजकै बैठकले चुनावको मिति तोक्ने बिश्वास गरिएको थियो । अन्तरिम संविधानमा चैतमा संविधानसभा चुनाव गरिने उल्लेख छ ।
भौतिक योजना तथा निर्माण मन्त्री हिशिला यमीले संविधानसभा चुनावकालागि लाग्ने खर्च जुटाउन अन्तराष्ट्रिय दात्रृ निकाय गुहारिने बताइन् । यमीले चुनावको खर्च जुटाउन आन्तरिक श्रोत परिचालन गरिने पनि जानकारी गराइन् । स्वास्थ्य मन्त्री गिरिजामणि पोखरेलले बैठकमा सिमा अतिक्रमणबारे छलफल भएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सिमा अतिक्रमण रोक्न कुटनीतिक पहल गरिएको बताएको पोखरेलले प्रधानमन्त्री कार्यलय अघि जम्मा भएको संचारकर्मीलाई जानकारी दिए ।
मन्त्री पोखरेलका अनुसार, मन्त्री परिषदको बैठकले मुलुकमा समातिएका रक्त चन्दन जुन मुलुकबाट आएको हो त्यही फर्काउने निर्णय गरेको छ । तर, फर्काउदा लाग्ने नेपाल सरकारको प्रशासनिक खर्च सम्बन्धित मुलुकले तिर्नुपर्ने पनि निर्णयमा उल्लेख रहेको पोखरेलले बताए । रक्तचन्दन भारतबाट नेपाल ल्याइने र चिन लगिनेगरिएको छ ।
मन्त्री परिषदको आजको बैठकले कपिलबस्तु घटनाको छानविन गर्न सरकारले गठन गरेको आयोगको म्याद पुष अन्त्यसम्म थप्ने निर्णय पनि गरेको छ । बैठकले बेपत्ता नागरिकसम्बन्धि बिधेयक मन्त्री परिषदको बिधेयक समितिमा पठाउने निर्णय गरेको स्वास्थ्य मन्त्री पोखरेलले जानकारी दिए । बैठकले नेपाल बायु सेवा निगमको अध्यक्षमा डा. गोबिन्दबहादुर थापा र महाप्रवन्धकमा केबी लिम्बुलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

No comments: