Monday, January 14, 2008

लुटेराद्वारा गोली प्रहार गरी नगद, सुन लुटपाट

कपिलवस्तु, ३० पुस । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित शिव मन्दिर टोलमा एक सुन व्यापारीमाथि हिजो लुटेराहरूको एक समूहले गोली प्रहार गरी नगद, सुन र कागजात लुटेर लगेका छन् । सुन व्यापारी रामदेव वर्मा र उनका छोरा सचिदानन्द वर्मा पसल बन्द गरी हिजो साँझतिर घर्रतर्फ आइरहेको अवस्थामा लुटेराहरूले दुवैमाथि गोली प्रहार गरी उनीहरूसँग भएको झोला लिएर भागेका थिए । लुटेराले उनीहरूबाट करिब रु.६० हजार, १७/१८ तोला सुन र आर्थिक कारोबारसम्बन्धी केही कागजातसमेत लुटेर लगेका छन् । रामदेव वर्मा तौलिहवा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्षसमेत हुन् । लुटेराले हानेको पहिलो गोली नपड्किएको र दोस्रो गोली दुवैलाई नलागेको बताउँदै प्रहरीले त्यसपछि लुटेराले दुवैमाथि हातपात गरी झोला खोसेर भागेको बताएको छ । लुटेराहरू एउटा कालो पल्सर मोटरसाइकलमा आएका र उनीहरू तीन जना रहेको बुझिएको छ ।सामान्य घाइते दुवै स्थानीय पी.बीर अस्पतालमा सामान्य उपचारपछि हिजै घर फर्किएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक कवेर कडायतले बताउनुभयो । यसैबीच सो घटनाको विरोधमा तौलिहवा उद्योग वाणिज्य सङ्घको आहृवानमा आज तौलिहवा बजार बन्द रहेको छ ।सङ्घको हिजो राति बसेको आकस्मिक बैठकले आक्रमणकारीको पहिचान गरी कार्यबाहीको माग गर्दै बन्दको घोषणा गरेको हो । बन्दका कारण आज यहाँ यातायातका साधन पनि चलेका छैनन् ।

No comments: