Sunday, January 13, 2008

बारा र पर्सामा बम विष्फोट, १ को मृत्यु

१३ जनवरी, ०८ । वीरगंज उपमहानगरपालिका वडा नम्बर ३ आदर्शनगर निवासी पुष्कर श्रेष्ठलाई अज्ञात समुहले गएराती गोली प्रहार गरि हत्या गरेको छ । गोली लागि घाईते भएका श्रेष्ठको उपचारको क्रममा वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा मृत्यू भएको हो ।नेशनल ट्रेडिङ्गका पूर्व कर्मचारी श्रेष्ठलाई मोटरसाइकलमा आएका ४ जना हतियारधारी अज्ञात समुहले निजको घरमै रहेको रिक्सा ग्यारेजमा राती साढे नौ बजेको समयमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।यसैगरि गएराती नै अज्ञात समुहले वीरगंज उपमहानगरपालिका वाड नम्बर ४ विर्ता गणेशमान चोक नजिकै सुतली बम विष्फोट हुंदा १ जना घाईते भएका छन् ।त्यसैगरि पर्सा जिल्लाको विन्दावासिनी चोकमा समेत गएराती बम विष्फोट गराईएको र सो विष्फोटबाट ३ जना घाईते भएका छन् । दुवै घटनाका घाइतेहरुको वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । हत्याको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका पर्सा जिल्ला इन्चार्ज तुफान सिंहले र बम विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समुहका पर्सा जिल्ला इन्चार्ज बादलले टेलिफोन मार्फत लिएका छन् । यसैगरि जिल्ला शिक्षा कार्यालय बारामा गएराती सुतली बम विष्फोट गराईएको छ भने आज विहान वीरगंज-कलैया सडक खण्ड अन्तर्गत बारा जिल्लाको कोईरी टोलमा राखेको २ वटा बम मध्ये एउटा बम विष्फोट हुंदा एक जना दाउरा बोकेर आईरहेका मजदुर घाइते भएको र निजको वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

No comments: