संविधानको तेश्रो संशोधनबिरुद्ध राजधानीमा शाही सरकारमा मन्त्री रहेकाहरुको दलले बिरोध प्रदर्शन गरेको छ ।
शाही सरकारमा मन्त्री रहेकाहरुको दल राप्रपा नेपालले संविधानको तेश्रो संशोधनको बिरुद्ध प्रदर्शन गरेको छ । राजधानीमा पुष २३ गते प्रदर्शन र सभा गर्दै राप्रपाका नेताहरुले मनोनित सांसदहरुद्वारा भएको राजतन्त्र फ्याक्ने निर्णयबिरुद्ध आन्दोलन गर्ने बताए । राजधानीको सुनधाराबाट सुरु भएको राप्रपाको जुलुश रत्नपार्क, पुरानो बसपार्क हुँदै भद्रकालीमा पुगेर सभामा परिणत भएको थियो ।
राप्रपा अध्यक्ष रविन्द्रनाथ शर्माले बहुसंख्यक नेपाली अहिले पनि राजतन्त्रको पक्षमा रहेकाले मनोनित सांसदहरुको निर्णय आफूहरुलाई मान्य नभएको बताए । संविधानसभा चुनावले राजतन्त्र फ्याके मात्र आफूहरुलाई मान्य हुने उल्लेख गर्दै शर्माले सात दलको सरकारका गतिविधिले राष्ट्र बिघटनको संघारमा पुगेको दावी गरे ।
शाही सरकारका गृहमन्त्री कमले थापाले यसरी प्रदर्शन गर्दा आफूहरुमाथि आक्रमण हुनसक्ने भए पनि खतरा मोलेरै सडकमा उत्रिएको बताए । २०६२/६३ को आन्दोलनपछि आफूहरु दर्शक भएको बसेको उल्लेख गर्दै थापाले संविधानको तेश्रो संशोधनपछि धैर्यताको बाँध फुटेको र सडकमा उत्रिएको बताए । संविधानको तेश्रो संशोधनपछि संविधानसभा चुनावको औचित्य सकिएको पनि थापाको दावी थियो ।
राप्रपाको अर्का नेता पद्मसुन्दर लावतीले सात दलका नाममा राष्ट्र बिघटन गर्न लागिएको उल्लेख गरे । अर्का नेता राजेश्वर देवकोटाले अन्तरिम संसदले पारित गरेको नागरिकता बिधेयकका कारण सुस्तामा सिमा बिबाद आएको दावी गरे ।
Monday, January 7, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment