Friday, January 11, 2008

सात करोड नपाए 'अवरुद्ध'

म्याग्दी, पुस २६ - मजदुर र ठेकेदारलाई भुक्तानी गर्न सरकारद्वारा तत्काल ७ करोड रुपैया“ निकासा नभए बागलुङ-बेनी-जोमसोम राजमार्ग निर्माण अवरुद्ध हुने नेपाली सेनाले बताएको छ ।
राजमार्गकै जटिल भाग मानिएको म्याग्दी र मुस्ताङ सीमावर्ती बा“दरजुङ भीरको स्थलगत अध्ययन गर्न आएका अर्थमन्त्री डा. रामशरण महतलाई सैनिक अधिकारीहरूले रकम नआए निर्माणलाई निरन्तरता दिन नसक्ने जानकारी गराएका हुन् । अर्थमन्त्री डा. महतले स्रोत अभावमा काम नरोक्न र बजेटको व्यवस्था आफूले गर्ने बताए । उनी बुधबार स्थलगत अध्ययनमा आएका हुन् ।
सरकारले यस वर्षपाइलट ट्रयाक निर्माण गर्न ७ करोड बजेट विनियोजन गरे पनि रकम निकासा नगरेको सेनाको भनाइ छ । बेनी-जोमसोम सडक निर्माण कार्यगणका प्राविधिक सेनानी धर्मेन्द्र झाले लक्ष्यभन्दा ३० प्रतिशत बढी काम भइसकेको उल्लेख गर्दै बजेट निकासा नहु“ंदा मजदुरको ज्याला र ठेकदारको बिल भुक्तानी हुन नसकेको बताए । उनका अनुसार तत्काल ७ करोड रुपैया“ निकासा भए माघभित्र राजमार्गले जोमसोम छुनेछ । मुस्ताङ सदरमुकामलाई राजमार्गले जोड्न तीन सय मिटर पहरा छिचोल्न मात्र बा“की छ । बागलुङ-बेनी-जोमसोम राजमार्गको ९१ किमिमध्ये सेनाले २०५८ मा म्याग्दीको गलेश्वरदेखि ७३ किमिको जिम्मा लिएको हो । राजमार्गको पाइलट ट्रयाक खोल्न ४८ करोड खर्च भइसकेको छ ।

No comments: