Tuesday, January 1, 2008

माओवादीले समानुपातिक छाड्यो भन्नु नै गलत हो

सात दलको हिजोको सहमतिलाई कसरी हेर्नुभएको छ ?हिजोको सहमतिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निश्चय गरेको छ । यो ऐतिहासिक फड्को हो र नेपाली जनताका निम्ति ऐतिहासिक उपलब्धी हो ।
संविधानसभा चुनाव अब निश्चित हुने भयो त ?चुनावको निम्ति हिजोको सहमतिले निश्चय नै महत्पूर्ण पूर्वाधार तयार गरेको छ । हामीले पहिलेदेखि नै राजतन्त्र रहेसम्म संविधानसभा चुनाव हुननसक्ने बताएका थियौं । राजतन्त्रको समाप्तीसँगै अब चुनाव हुननसक्ने धेरै कारणको अन्त्य भएको छ ।
निश्चतचाँहि अझै भइसकेको छैन भन्नुभएको हो ?राजनीतिमा शतप्रतिशत निश्चित त कहिले पनि हुदैन । साम्राज्यवादीहरुको षड्यन्त्र हुनसक्छ, अनेकौं षड्यन्त्र हुनसक्छन् । सहमतिले चुनावको वातावरण बनाएको भने निश्चय नै भन्न सकिन्छ ।
सात दलको एकता कायम रहने चाँहि निश्चित भएको हो ?राजतन्त्र रहेसम्म संसदवादी दलहरु र माओवादी एक हुनु अनिवार्य छ भन्ने हाम्रो भनाइ हो । गणतन्त्र संस्थागत नभएसम्म हामी सात दलको एकता कायम राख्न चाहन्छौ । १२ बुँदे समझदारीदेखि यताका सबै समझदारीको आशय नै यही हो ।
पूर्ण समानुपातिक प्रणालीको कुरा उठाउनुभयो, त्यही माग उठाएर चुनाव नहुने वातावरण बन्ला भन्ने लाग्दैन ?माओवादीले समानुपातिक प्रणाली छाड्यो भन्नु नै गलत हो । हिजो सबै प्रत्यक्ष प्रणालीमा चुनाव हुन्थ्यो । हाम्रो संघर्षका कारण पचास प्रतिशत समानुपातिक भयो, अहिले साठी प्रतिशत भएको छ । यो कम हो र ? हाम्रो भनाइ के हो भने प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका निम्ति संघर्ष गर्नु नै ठिक बिकल्प हो ।

No comments: