Wednesday, January 2, 2008

शिवपुरीमा थप अनुसन्धान गर्न विदेशी झिकाइने

ललितपुर, १८ पुस । राष्ट्रिय मानवअधिकार आयोगले नेपाली सेनाको भैरवनाथ गणका सुरक्षाकर्मीद्वारा पक्राउपछि हत्या गरी लास गाडिएको भनिएको स्थान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको शङ्कास्पद स्थानको थप अनुसन्धान गर्न विदेशी फोरेन्सिक एन्थ्रोपोलिजिस्ट झिकाउने भएको छ । आयोगका प्रवक्ता गौरी प्रधानले फोरेन्सिक एन्थ्रोपोलिजिस्ट झिकाउनेसम्बन्धमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा पहल गरिएको जानकारी दिँदै यही हप्ता फोरेन्सिक एन्थ्रोपोलिजिस्ट नेपाल आइपुग्ने बताउनुभयो । सो स्थानको प्रारम्भिक अनुसन्धानका क्रममा सङ्कलन गरिएका शङ्कास्पद वस्तुको परीक्षण गर्न आयोगले यही पुस ९ गते विधिविज्ञानसम्बन्धी विज्ञको टोली रहेको नेपालका विभिन्न प्रयोगशालामा पठाएको थियो । आयोगको नेतृत्वमा विधिविज्ञानविज्ञहरूले यही पुस ६ र ७ गते सो स्थानको प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न शङ्कास्पद वस्तु सङ्कलन गरेका थिए । नेपाली विधि विज्ञानविज्ञको सुझावअनुसार आयोगले थप अनुसन्धान र उत्खननका लागि फोरेन्सिक एन्थ्रोपोलिजिस्ट झिकाउन लागेको हो- प्रवक्ता प्रधानले भन्नुभयो । मानव अवशेष उत्खनन गर्न फोरेन्सिक एन्थ्रोपोलिजिस्ट आवश्यक पर्ने र दक्षिण एसियामा यसप्रकारका जनशक्ति नभएकाले उत्खनन गर्न विदेशबाट विशेषज्ञ झिकाउनुपर्ने भएकाले केही समय ढिला भएको हो- उहाँले भन्नुभयो । फोरेन्सिक एन्थ्रोपोलिजिस्टले दिने सुझावका आधारमा उत्खनन कार्य अघि बढाइने जानकारी आयोगले दिएको छ । यसैबीच आयोगले नेपाल प्रहरीलाई अपराधस्थल विशेषज्ञ उपलब्ध गराइदिन पुनः आग्रह गरेको छ । सो स्थानमा अहिले प्रहरीले २४ सै घण्टा सुरक्षाप्रदान गरेको आयोगले जनाएको छ । यसैबीच आयोगको पहलमा आज नेकपा -माओवादी) ले वि.सं २०६० जेठ २९ गते कब्जामा लिई हत्या गरेको थमानसिंह बमको भनिएको शव कैलाली जिल्ला रामशिखर भाला गाविस-८ बाट उत्खनन गरियो । आयोगका प्रवक्ता प्रधानले उत्खनन कार्यमा विधिविज्ञान विज्ञ तथा अन्य भौतिक सहयोग आयोगबाट उपलब्ध गराइएको जानकारी दिनुभयो । उत्खनन कार्यमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयका प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार र स्थानीयवासीको सहभागिता रहेको बताइएको छ । पीडितको उजुरीको आधारमा आयोगको पहलमा विशेषज्ञ टोलीलगायत आयोगको केन्द्रीय तथा क्षेत्रीय कार्यालयका कर्मचारीले उत्खनन कार्यको अनुगमन गरेको जानकारी प्रवक्ता प्रधानले दिनुभयो । आफन्तले उत्खननका क्रममा मृतक बमले लगाएको स्वीटरको टुक्रा पहिचान गरिएको र सो शव उहाँकै हुनसक्ने अनुमानको थप प्रमाण भेटिएको बताइएको छ । उत्खननपछि प्राप्त अवशेष अहिले सेती अञ्चल अस्पतालमा राखिएको र छिट्टै डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी भइरहेको जनाइएको छ ।

No comments: