Friday, January 4, 2008

बेलबारी घटनाको पुनः छानबिन

उर्लाबारी (मोरङ्), पुस १९ गते । सात जनाको ज्यान जानेगरी मोरङ्को बेलबारीमा भएको घटनाको सरकारद्वारा गठित संसदीय छानबिन टोलीले बिहीबार घटनाको पुनः छानबिन सम्पन्न गरेको छ । छानबिन समितिका सदस्यहरू हर्कमान तामाङ, धर्मशीला चापागाईं, सहन्यायाधिवक्ता युवराज सुवेदीसमेत रहेको टोलीले मृतकका आफन्त, घाइते, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतसँग भेटेर आवश्यक जानकारी लियो । छानबिनका लागि टोली बुधबार अपरान्ह बेलबारी आएको हो । सांसद परि थापाको संयोजकत्वमा सरकारद्वारा गठित छानबिन समितिका सदस्य तथा सांसद हर्कमान तामाङ्ले यसपटक अन्तिम छानबिन गरी सरकारलाई यही पुसको अन्तिम साता प्रतिवेदन बुझाउने जानकारी दिनुभयो । हत्याकाण्डमा संलग्न नेपाली सेनाका ८० र नेपाल प्रहरीका दर्ुइ जनाको डीएनए परीक्षण गर्न भारतको कोलकाता लगिए पनि त्यहाँ कसको रगत कोसँग मिलेको भन्ने छुट्टनि नसकेपछि पुनः राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा नै गरिएकाले पनि प्रतिवेदन बुझाउन ढिलो भएको सांसद तामाङले जानकारी दिनुभयो । वि.सं. २०६३ साल वैशाख १२ गते राति बेलबारीमा रहेको संयुक्त बेस क्याम्पमा रहेको नेपाली सेनाका केही जवानले स्थानीय २३ वषर्ीया सपना गुरुङ्लाई बलात्कारपछि हत्या गरेको भन्दै त्यसको विरोधमा भोलिपल्ट गाउँलेले बेस क्याम्प घेराउ गर्दा सेनाबाट भएको गोली प्रहार गर्दा छ जनाको मृत्यु भएको थियो । छानबिन समितिले २०६३ भदौ अन्तिम साता मृतकका परिवारलाई जनही १० लाख, अङ्गभङ्ग भई घाइते भएकालाई जनही छ लाख, गम्भीर घाइतेलाई जनही ७५ हजार र सामान्य घाइतेलाई २५ हजार रुपियाँ क्षतिपर्ूर्ति दिन सरकारलाई सिफारिस गरेको थियो ।हत्याकाण्डका मृतकका परिवार र घाइतेले सरकारसँग परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था, छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था, उपचारको व्यवस्था, दोषीलाई कडाभन्दा कडा कारबाहीलगायतका माग गरेका छन् । त्यस घटनामा परी गम्भीर घाइते हुनुभएका गोपालचन्द्र गौतमले सरकारले आफूहरूका मागको बेवास्ता गरेकाले आन्दोलन गर्ने तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।

No comments: