Tuesday, January 29, 2008

बिशाल जनसहभागिताका साथ नेपालगंजमा संयुक्त सभा

२८ जनवरी, ०८ । संविधान सभा चुनावको माहौल वनाउन सात राजनीतिक दलले आज नेपालगंजमा छैठौं संयुक्त चुनाबि सभा सम्पन्न गरेका छन ।सभालाई सम्बोधन गर्ने सबैजसो नेताहरुले चैत २८ मा चुनाब भएरै छाड्ने प्रतिबद्धता दोहार्‍याएका थिए । उनीहरुले मध्यपश्चिमबासीलाई निर्धक्क भएर चुनाबमा होमिन आग्रह गर्दै अबको चुनाब कसैले रोकेर नरोकिने समेत दाबी गरेका थिए । सभालाइ संवोधन गर्ने सवैजसो नेताहरुले संविधानसभाको चुनाव नभए निरंकुश राजतन्त्र हावी बताएका थिए । सभालाइ सम्बोधन गर्दै नेकपा एमालेका बामदेब गौतमले आन्दोलनरत सवै पक्षलाई वार्तामा आउन आग्रह गर्दै निर्वाचन अघि पुरा हुने मागलाई सम्वोधन गर्न सात दल प्रतिबद्ध रहेको वताउनुभयो ।यसैगरी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले मुलुकमा कस्तो संघीय सासन हुने र मुलुकलाइ कति प्रदेशमा विभाजन गर्ने भन्ने कुरा लामो वहस र छलफलपछि मात्र तय गरिनुपर्ने भन्दै चुनाव अघिनै स्वायत्त प्रदेश घोषणा गर्न नसकिने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कुनैपनि तागतले संविधानसभाको चुनाव रोक्न नसक्ने दावी गर्दै चैत २८ गते चुनाव हुनेमा आश्वस्त पार्ने प्रयास गर्नुभयो । जनमोर्चा अध्यक्ष अमिक शेरचनले चैत २८ मा संविधानसभाको चुनाव हुन नसके मुलुकमा पुन निरंकुश राजतन्त्र सक्रिय हुने र प्राप्त अधिकार पनि गुम्ने हुनाले सवै मधेशी जनतालाई चुनावमा भाग लिन आग्रह गर्नुभयो । सूचना तथा संचारमन्त्री एवं नेकपा माओवादीका नेता कृष्णवहादुर महराले मधेसी, जनजाति, दलित, हिमाल, पहाड सवैतिर समस्या अझै बांकी रहेकाले त्यसलाई संविधान सभापछि बन्ने नया संविधानले मात्र सम्वोधन गर्ने वताउनुभएको थियो ।सदभावना आनन्दीदेवीका महासचिव देवेन्द्र मिश्रले तराईमा आन्दोलनरत पक्षसंग चुनाव अघिनै गोलमेच सम्मेलन हुनुपर्ने वताउनुभयो । सभालाई संवोधन गर्दै वाममोर्चाका नेता नारायणप्रसाद आचार्यले सात राजनीतिक दलवीच थुप्रै बुँदामा असहमति रहेकोपनि ती विषय चुनावका वाधक नवन्ने वताउनुभयो । आयोजकले अहिलेसम्मकै सवैभन्दा उत्साहजनक सहभागिता भएको दावी गरेपनि सभास्थलमा करिव पचास हजारको संख्यामा मात्र सर्वसाधारण उपस्थित भएको बताईएको छ ।

No comments: