Monday, January 28, 2008

कडा सुरक्षा व्यवस्था विच नेपालगञ्जमा सातदलको सभा

संविधानसभा निर्वाचनको प्रचारप्रसारका लागि सात दलले दुई साताअघि राजधानीबाट सुरु गरेको संयुक्त सभा आज नेपालगञ्जमा हुने भएको छ।
मध्यान्ह नेपालगञ्जस्थित टण्डन राइस मिलमा हुने सभाका लागि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।
प्रशासन स्रोतले दिएको जानकारीअनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन झण्डै ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि सात दलले विराटनगर र जनकपुरमा आयोजना गरेको संयुक्त सभाको पूर्व सन्ध्यामा तराईमा संघर्षरत समूहहरुले विष्फोटनलगायतका घटना गराएपछि प्रहरीले विशेष सुरक्षा व्यवस्था अपनाउँदै आएको छ।
सात दलको सभा अनुगमनका लागि नेपालस्थित राष्ट्र संघीय नियोग अन्मिनसमेत नेपालगञ्जमा एक सातादेखि सक्रिय रहेको बताइएको छ। यसअघि जनकपुरमा गरिएको सभामा तराईमा संघर्षरत समूहहरुले अवरोध सिर्जना गर्ने बताए पनि आजको सभा विथोल्ने कुनै समाचार आएको छैन।
जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहले आज बाँकेमा यातायात तथा बजार बन्द आव्हान गरे पनि त्यसको कुनै प्रभाव नपरेको बताइएको छ। नेपालगञ्जमा आज हुने सभाको जिम्मेवारी नेपाल मजदुर किसान पार्टीले पाएको छ।
सभामा सात दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधन गर्नेहरुमा माओवादी नेता एवं सूचना तथा संचार मन्त्री कृष्णबहादुर महरा, एमाले स्थायी समिति सदस्य बामदेव गौतम, नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेलगायत रहेका छन् ।

No comments: