Sunday, January 27, 2008
'मधेशका जनता चुनावविरोधी हैनन्'
२७ जनवरी, ०८ । मधेशका नेताहरुले मधेशी जनता चुनावविरोधी नभएको बताएका छन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशका माग पूरा भए संविधानसभा चैतभित्रै हुने बताउनुभयो ।आफूहरु सार्थक संविधानसभा निर्वाचनको पक्षमा रहेको बताउदै भन्नुभयो,'मधेशको माग पूरा गरी तोकिएकै समयमा चुनाव गर्नुपर्छ, सरकार चुनावबाट भाग्न खोज्दैछ हामी कुनै हालतमा भाग्न दिदैनौं ।' समग्र मधेश एक प्रदेशको ग्यारेन्टी, प्रशासन देखि सेना प्रहरीमा मधेशीको न्यायिक सहभागिताको ग्यारेन्टी गरिए चैतमा चुनाव हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । मधेशलाई टुक्रा पारेर शासन गर्ने षड्यन्त्र भइरहेको उहांको आरोप थियो । आफूहरु मुलुक बिखण्डनको पक्षमा नरहेको स्पष्ट पार्दै भन्नुभयो,'मधेशी जनता यो मुलुकको राष्ट्रपति बन्न चाहन्छन्, मुलुक टुक्राउने पक्षमा छैनन् ।' नेकपा माओवादीका केन्द्रीय सदस्य दिनानाथ शर्माले मधेशलाई अधिकारसम्पन्न बनाउन संविधानसभा अनिवार्य भएको बताउनुभयो । मधेशी जनता वास्तविक रुपमा संविधानसभाको पक्षमा रहेकाले चुनाव सफल हुने दाबी गर्नुभयो । उहांले भन्नुभयो,'केही व्यक्तिहरु मधेशको प्रतिनिधित्व गर्छौं भन्दै चुनाव बिथोल्न हिडेंका छन् तर मधेशी जनताले उनीहरुलाई नंग्याउनेछन् ।' मधेशको माग सम्बोधनका लागि वार्ताको विकल्प नभएको बताउदै सशस्त्र समूहलाई पनि वार्तामा ल्याउनुपर्नेमा उहांको जोड थियो । राजनीतिक रुपले समस्या हल गर्नुपर्ने बताउदै भन्नुभयो,'मधेशका असन्तुष्ट पक्षलाई मनाएर भएपनि चुनावमा सहभागी गराउनुपर्छ ।' चुनाव चैतमा हुने दाबी गर्दै त्यसमाथि शंका नगर्न आग्रह गर्नुभयो । तराई मधेश लोकतान्त्रिक पार्टीका प्रभावशाली नेता सर्वेन्द्रनाथ शुक्लाले मधेशी जनता संविधानसभा मार्फत् अधिकारसम्पन्न हुन चाहिरेको बताउनुभयो । सार्थक संविधानसभा होस् भनेर आफूहरुले ११ बुंदे माग अगाडि सारेको बताउनुभयो । ११ बुंदे माग पूरा नभएका मधेश देखि पहाडसम्म चुनाव सफल हुने उहांको भनाई थियो । नेकपा एमालेका केन्द्रीय सदस्य रघुवीर महासेठले चुनावको मुखमा मधेशमा आन्दोलन उठाउनुलाई बेमौसमको बाजा भन्नुभयो । उहांले माग असिमित हुने बताउदै भन्नुभयो, 'जति माग उठायो उति तन्कन्छ । यस्तै हो भने पाएका माग समेत गुम्छ ।' प्राप्त उपलब्धिको रक्षा गर्दै मधेशलाई अधिकारसम्पन्न बनाउन संविधानसभामा होमिन आव्हान गर्नुभयो । चुनाव नभए राजतन्त्रलाई फाइदा हुन्छ भन्दै महासेठले मधेशीमाथि राजतन्त्रलाई फाइदा पुर्याएको कलंक लाग्ने खतरा बढेको बताउनुभयो । उहांले संविधानसभामा होमिन आम मधेशीलाई आग्रह गर्नुभयो । राष्ट्र बिखण्डनबाहेकको आत्मनिर्णयको सुनिश्चितता चुनावले गर्ने भएकाले सस्ता नारामा नअल्झन आग्रह गर्नुभयो
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment