Friday, February 1, 2008
जोमसोम मोटरबाटोको निर्माण कार्य अन्तिम चरणमा
बाबियाचौर -म्याग्दी) १८ माघ । हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी-जोमसोम मोटरबाटोको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एकानब्बे किलोमिटर लामो उक्त सडक खण्डमध्ये अव करिब एक किलोमिटर सडक निर्माण कार्य मात्र बाँकी रहेको मोटरबाटो निर्माण कार्यको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ । बेनी-जोमसोम मोटरबाटो निर्माण गणका सेनानी कृष्ण रायमाझीले दिनुभएको जानकारी अनुसार म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बाँदरजुङ्गे भीरमा पाइलट ट्रयाक खोल्ने र म्याग्दीको ओखरेबगरमा कालीगण्डकी नदीमाथि बेलीबृज निर्माण गर्ने काम बाँकी छ ।"युद्धस्तरमा काम भइरहेको छ, माघ मसान्तसम्ममा जोमसोमलाई सिधा राजमार्गसंँग जोड्ने लक्ष्य लिएका छौँ भन्दै सेनानी रायमाझीले भन्नुभयो- " अव बढीमा एक किलोमिटर बाटो खन्न बाँकी छ ।" यसअघि सेनाले मङ्सिर मसान्तभित्र जोमसोमलाई राजमार्गसँग जोड्ने बताएको थियो । जाडो र केही प्राविधिक कठिनाइका कारण मङ्सिरमा काम पूरा गर्न नसकिएको उहाँले बताउनुभयो । दस वर्षअघिदेखि निर्माण सुरु गरिएको उक्त मोटरबाटोको मुस्ताङको घाँसदेखि जोमसोम र म्याग्दीको बेनीदेखी ओखरेबगर तथा भुरुङ तातोपानीदेखि दानासम्म करिब ७० किलोमिटर सडक खण्डमा जिप, मोटरसाइकल र ट्रयाक्टर गुडिसकेका छन् । अहिले त्यहाँ नेपाली सेना र अन्य गरी ३०० जना सडक खन्ने काममा लगिरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment