Sunday, February 10, 2008

हास्यकलाकार गोपालराज मैनालीको निधन

काठमाडौँ,, २७ माघ । हास्यकलाकार गोपालराज मैनालीको आज बिहान ६५ वर्षो उमेरमा निधन भयो ।उहाँ विगत ४२ दिनदेखि निमोनिया रोगको उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज हस्पिटलमा भर्ना गरिनुभएको थियो ।उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन् ।विसं २०१४ बाट रङ्गमञ्चबाट अभिनय यात्रा प्रारम्भ गर्नुभएका मैनालीले आमा, गरिब, के भयो दुनियाँलाई, डोलामैयाँ, बाबुसाहेबको करामतलगायतका ६०भन्दा बढी नाटकमा अभिनय गर्नुभएको थियो भने हिजो आज भोलि, सिन्दुर, कन्यादान, तिलहरी, के घर के डेरा, भाग्यरेखा, युगदेखि युगसम्म, पछ्यौरी, देउकी, लक्ष्मणरेखा,नौडाँडापारिलगायतका ७० भन्दा बढी चलचित्रमा खेल्नुभएको थियो । उहाँले पाटीको वासलगायतका दर्जनौं टेलिचलचित्रमा पनि अभिनय गर्नुभएको नेपाल चलचित्र कलाकार सङ्घले जनाएको छ ।हाल छायाङ्कन भइरहेको जुत्ता खाने बुहारी चलचित्र नै 'चङ्खे' मैनालीको अन्तिम चलचित्र बन्न पुग्यो ।मैनालीको अभिनय स्वाभाविक र सहज किसिमको मानिन्थ्यो ।उहाँले प्रिया अवार्ड, गीताञ्जली सिने अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार, हरिततारा चलचित्र पुरस्कारलगायत विभिन्न सम्मान पाउनाका साथै उहाँ गाइजात्रा महोत्सव-२०३४मा पुरस्कृत हुनुभएको थियो । उहाँका विभिन्न पत्रिकामा कविता पनि प्रकाशित छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न भयो ।

No comments: