Friday, February 22, 2008
वार्ता भंग भएको गुप्ताको दाबी
२२ फेब्रुअरी, ०८ । सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता भंग भएको मधेसी जनअधिकार फोरमका सहसंयोजक जेपी गुप्ताले दावी गर्नु भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले आफूहरुको मागप्रति सरकार गम्भीर नभएकाले वार्ता भंग भएको घोषणा गर्नुभएको हो । मोर्चा र सरकारबीच जारी वार्ता भंग भईसकेको बताउँदै गुप्ताले हामीले लचकता प्रस्तुत गरेपनि सरकारले माग पूरा गर्नेतर्फ गम्भीरता नदेखाएपछि वार्ता भंग गर्न वाध्य भएको बताउनुभयो । आत्मनिर्णयको अधिकार सरकारलाई आपत्ती भए सारमा त्यस्तै आशयको शब्द प्रस्तुत गरी एक मधेश एक प्रदेशको ग्यारेन्टी गर्न भन्दा पनि सरकारले अस्वीकार गरेको बताउनुभयो ।स्वायत्त राज्यको ग्यारेन्टी गर्न अन्तरिम संविधानमा अध्यादेशमार्फत भएपनि सम्बोधन गर्न भन्दा सात दलका नेताले हस्ताक्षर गर्ने या प्रधानमन्त्रीले त्यसलाई देशवासीका नाममा सम्बोधन गर्ने भनिएपछि सरकार आफूहरुको छ बुंदे मागप्रति गम्भीर छैन भन्ने देखिएको गुप्ताको आरोप थियो । गुप्ताले आफूहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनगणना, संसद बिघटन, वर्तमान सरकार बिघटनलगायतका माग छाडी लचकताका साथ प्रस्तुत हुंदा पनि कमजोरी ठानिएको बताउनुभयो । उहांले जबर्जस्ती चुनाव गर्न खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिदै चुनावमा भाग नलिने स्पष्ट पार्नुभयो ।भारतीय राजदूतावासमा आफूहरुको आग्रहमा नभई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा वार्ता भएको खुलासा गर्नुभयो । राजदूतावासमा वार्ता गर्ने परिस्थिति प्रधानमन्त्रीकै कारण सृजना भएको गुप्ताको भनाई थियो ।राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबैलाई सहभागी नगराई चुनाव गर्न खोजे मुलुक बिखण्डन हुनसक्ने खतरा औल्याउनुभयो । आफूहरु चुनावविरोधी नभएको दाबी गर्दै भन्नुभयो, मूल कुरा सबैलाई सहभागी गराउनुपर्छ भन्ने हो । चुनावले समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको बताउनुभयो । केन्यामा चुनावका कारण हिंसा भड्किएको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै परिणाम आउनसक्ने बताउनुभयो । एक मधेश एक प्रदेशको मागप्रति राजपाको धारणा के छ भनी सोध्दा लोहनीको भनाई थियो, सबैले सबै किसिमका माग राख्न सक्छन्, मूल कुरा संविधानसभामा कसरी सबैलाई सहभागी गराउने भन्ने विषय हो । नेकपा माओवादीका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तले एक मधेश एक प्रदेशको टुंगो संविधानसभाले मात्र लगाउन सक्ने बताउनुभयो । आफूहरु आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेशको पक्षमा रहेको स्पष्ट पार्दै कस्तो प्रदेश बन्ने भन्ने कुरा जनताको मतले मात्र टुंगो लगाउन सक्ने बताउनुभयो । उहांले चुनौती दिदै भन्नुभयो, एक मधेश एक प्रदेशका पक्षधरले चुनावबाट त्यसका विरोधीलाई बढार्न सकुन् । विगतमा आफूहरुले आत्मनिर्णयको अधिकारसहित जातीय, क्षेत्रीय, भाषिक आधारमा स्वायत्त प्रदेश बन्नुपर्छ भन्दा बिखण्डनकारीको आरोप लगाउनेहरु मधेश आन्दोलनको प्रवक्ता बनेको देख्दा आश्चर्यचकित भएको बताउनुभयो । उहांले भन्नुभयो,'जनतालाई अधिकारसम्पन्न बनाउने विषय उठाउदा हामीलाई बिखण्डनकारी र तानाशाही भन्नेहरु आज मधेश आन्दोलनका प्रवक्ता भएका छन् ।' चैत २८ गते चुनाव हुनैपर्ने बताउदै चुनाव बिथोल्न खोज्ने इतिहासमै कलंकित हुने चेतावनी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment