१२ फागुन उम्मेदवार छनोटले दलहरूभित्र भाँडभैलो मच्चिएको छ । विवाद सबैजसो दलभित्र छ, कांग्रेस र एमालेका जिल्ला नेताहरूले पार्टीबाट राजीनामा नै दिएका छन् ।
उम्मेदवार छनोटमा मनपरी गरेको भन्दै कांग्रेस महामन्त्री केबी गुरुङको नेतृत्वमा रहेको असन्तुष्ट समूह वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलमाथि खनिएको छ । समूहले आइतबार बिहान प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई भेटर असन्तुष्टि व्यक्त गरेको छ ।
उम्मेदवार छनोटको जिम्मा पाएका देउवा, सुशील र पौडेलको कामप्रति कोइराला पनि असन्तुष्ट रहेको गोविन्दराज जोशीले बताए । 'तपाईंहरूले भनेको कुरा ठीक हो । उहाँहरू (देउवा, सुशील र पौडेल) लाई जिम्मेवारी दिइयो तर, धेरै मान्छे सन्तुष्ट छैनन्,' कोइरालाको भनाइ उद्धृत गर्दै असन्तुष्ट खेमाका केन्द्रीय सदस्य जोशीले नयाँ पत्रिकासित भने । कोइरालाले म हेर्छु भनेर आश्वासन दिएको पनि उनले बताए ।
योग्य र जनमत भएका व्यक्तिलाई टिकट नदिइएको भन्दै विपिन कोइरालालगायत सिन्धुलीका दुई दर्जन नेता तथा कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र स्थानीय पार्टी समितिका पदाधिकारी छन् ।
विपिनको राजीनामापत्रमा 'दोस्रो जनआन्दोलनमा सहभागी नै नभएका, जिल्लामा पाइला नै नटेकेका र कुनै जनाधार नभएका व्यक्तिलाई भागवण्डाका आधारमा टिकट दिएको देखिन्छ' भनिएको छ ।
त्यस्तै, अछाम जिल्ला कार्यसमितिका पूर्वसभापतिहरूलगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले आइतबार सभापति कोइरालालाई असन्तुष्टि पत्र पठाएका छन् । उनीहरूले पत्रको बोधार्थ वरिष्ठ नेता देउवा र कार्यवाहक सभापति सुशील कोइरालालाई पनि दिएका छन् ।
उम्मेदवार छनोटप्रति असहमति जनाउँदै नेपाली कांग्रेस मुगुका सभापति वासुदेवशरण कोइरालाले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् । जिल्लाबाट सिफारिस नै नगरिएकालाई टिकट दिएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । जिल्ला सभापति वासुदेवले केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालालाई पठाएको राजीनामापत्रमा उनले आफूलाई समानुपातिकको सूचीमा नराखिएको र जिल्लाका अन्य उम्मेदवारहरूको निर्णय न्यायोचित नभएको उल्लेख गरेका छन् । उनी विगत ५८ वर्षदेखि कांग्रेसमा आबद्ध थिए ।
कांग्रेस कार्यकर्ताले तत्कालीन शाही शासनको स्वागत गरेका खड्गबहादुर शाहीलाई टिकट दिइएको भन्दै शनिबार राति पार्टी कार्यालयमा तोडफोड गरी महत्त्वपूर्ण कागजात एवं फर्निचर जलाए । कार्यकर्ता तथा भ्रातृ संगठनले केन्द्रले निर्णय नसच्याएमा चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले आइतबार गमगढी बजारसमेत बन्द गरे ।
उता, सुर्खेत सहकर्मी कलेन्द्र सेजुवालका अनुसार सुर्खेत ३ मा शिवराज जोशीलाई उम्मेदवार बनाएको विरोधमा कार्यकर्ताले आइतबार प्रदर्शन गरेका छन् । उनीहरूले बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा टायर बालेर यातायात आवागमनमा अवरोध पुर्�याउनुका साथै दिउँसो वीरेन्द्रनगरमा नाराजुलुुससहित प्रदर्शन गरेका छन् ।
Monday, February 25, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment