Friday, February 29, 2008
आजदेखि लोडसेडिङ घट्यो
२९ फेब्रुअरी, ०८ । कुलेखानी दोस्रोबाट थप १६ मेगावाट बिजुली उत्पादन हुन थालेपछि विद्युत् प्राधिकरणले शुक्रबारदेखि साताको छ घन्टा लोडसेडिङ घटनाएको छ । यसअघि साताको साढे ४६ घन्टा लोडसेडिङ थियो ।राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म गर्दै आएको लोडसेडिङ पूर्ण रूपमा हटेको प्राधिकरणले जनाएको छ । त्यस्तै बिहान ४ देखि ८ बजेसम्मको लोडसेडिङ पनि एक घन्टा कटौती भएको छ । यसअनुसार शुक्रबारदेखि बिहान ५ देखि ८ बजेसम्म विद्युत् आपूर्ती कटौती हुनेछ । त्यस्तै बिहान ९ देखि दिउँसो १ बजेसम्म हुँदै आएको लोडसेडिङ १२ बजेसम्म कायम हुने प्राधिकरणको भारप्रेषण केन्द्रले बिहीबार जारी गरेको विज्ञप्तिमा छ । प्राधिकरणले अत्यधिक बिजुली खपत हुने समय बेलुकी ५ देखि ९ बजेसम्मको लोडसेडिङ तालिका भने यथावत् राखेको छ । प्राधिकरणले यसअघि विभिन्न १२ खण्डमा लोडसेडिङ तालिका बनाएको थियो । रातिको लोडसेडिङ हटेपछि ११ वटा खण्डमा विभिन्न ७ समूहमा आपूर्ती कटौती हुनेछ । प्राधिकरणको उत्पादन महाप्रबन्धक डा. जीवेन्द्र झाका अनुसार कुलेखानी-२ को अर्को युनिट (१६ मेगावाट) आगामी चैत १८ गते मर्मत पूरा हुनेछ ।कुलेखानी दोस्रोको दुइवटा युनिट गरेर थप ३२ मेगावाट प्रणालीमा जोडिएपछि लोडसेडिङमा सुधार हुने अपेक्षा प्राधिकरणले गरेको छ । गतवर्ष चैत महिनामा एउटा युनिट बिग्रेपछि त्यसलाई मर्मत गर्ने क्रममा अर्को युनिट पनि बन्द हुन पुगेको थियो । त्यही बन्द भएको युनिट गत बुधबारदेखि सञ्चालन भएको हो । यतिखेर प्रणालीमा करिब ७ सय ५० मेगावाट बिजुली माग छ भने आपूर्ती अझै करिब २ सय ५० मेगावाट अपुग छ । सरकार र लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार भएको सम्झौतापछि तराई क्षेत्रका उद्योग, कलकारखाना सुचारु हुने भई माग फेरि बढ्ने प्राधिकरणले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment