Thursday, February 14, 2008
'अव मधेस समस्या समाधान हुन्छ र संविधानसभा चुनाव हुन्छ'
१४ फेब्रुअरी, ०८ । नेपालको तीन दिने नेपाल भ्रमणमा आएको कंग्रेस आईको प्रतिनिधि मण्डलका नेता एवं महामन्त्री दिग्विजय सिंहले कुन भूभाग कुन प्रदेशमा रहने र कति अधिकार दिने भन्ने विषयमा भारतले हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ । आज स्वदेश फर्कनु अघि राजधानीमा पत्रकार सम्मेलन गरी उहाँले "मधेस एक प्रदेशको माग भारत सरकारसित नभएर नेपाल सरकारसित गरिएको हो । कुन भूभाग कुन प्रदेश हुने र कति अधिकार दिने भन्ने निर्णय नेपालले गर्छ र यसको जवाफ सात दलको सरकार र प्रधानमन्त्रीले मात्र दिन सक्छन् ।" महामन्त्री सिंहले तर्राईका सशस्त्र समूहहरुलाई कंग्रेस आईको कुनै सम्बन्ध नरहेको पनि बताउनुभयो । सिंहले भन्नुभयो, "कांग्रेस आई हिंसामा विश्वास गर्दैन, त्यसैले सशस्त्र समूहहरुलाई सहयोग गर्ने कुरै आउँदैन ।" साथै उहाँले नितिशकुमारको सरकारबाट पनि त्यस्ता समूहहरुलाई सहयोग नभएको दाबी गर्नुभयो । संविधानसभा निर्वाचन भएन भने त्यसको नोक्सान नेपालीलाई नै हुने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, "चुनाव भएन भने के हुन्छ, यो हामी भन्न सक्दैनौं । चुनाव दुइपटक स्थगित भइसकेकाले दलहरुको विश्वसनीयतामाथि जनतामा आशंका छ । अव दलहरुले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ ।" मधेसीहरु विगतमा अधिकारबाट वञ्चित रहेको दलहरुले नै स्वीकार गरेको चर्चा गर्दै उहाँले अव उनीहृरुलाई अधिकार सम्पन्न गराउनु दलहरुको कर्तव्य भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, "तर, नेपालको र्सार्वभौसत्ताको मामलामा कुनै सम्झौता गर्न सकिँदैन । भारतीय चाहना नेपाललाई सहयोग र र्समर्थन दिने हो, ठाडो हस्तक्षेप होइन । म विश्वास दिलाउँछु ।" कतिपय नेपालीहरु अझै पनि सबै समस्यामा भारतको हात देख्ने गरेको भन्दै उहाँले नेपालको आन्तरिक मामलामा भारतले हस्तक्षेप गर्न नचाहेको दाबी गर्नुभयो । उहँाले आफूहरुले मदत मात्र गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, "भारत चाहन्छ, नेपाली जनताले आप\mनो प्रतिनिधिमार्फत संविधान बनाउन् र नेपाल स्वतन्त्र र मजबुत बनोस् ।" साथै उहाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तर्राई समस्याबारे बडो चिन्तित भएको बताउनुभयो । उहाँले भन्नुभयो, "गिरिजाबाबु। वरिष्ठ र सम्मानित नेता हुनुहुन्छ । उहाँले तर्राई समस्यामा राष्ट्रसंघीय मध्यस्थता र नेपालको र्सार्वभौमसत्ताका बारेमा कुनै सम्झौता नहुने बताउनुभएको छ । महन्थ ठाकुरजी गिरिजाबाबुका पुराना सहयोगी हुनुहुन्छ । अव कुनै विवाद छ भने वार्तामार्फत समाधान गर्नुपर्छ । हिंसाबाट कुनै निकास निस्कँदैन ।"नेपाल-भारतको ऐतिहासिक, सांस्कृतिक र भौगौलिक सम्बन्ध अकाट्य रहेको चर्चा गर्दै प्रमण्डलका नेता सिंहले राजतन्त्र वा लोकतन्त्र पनि नेपाली जनताले नै निर्णय गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, "तर, भारत लोकतन्त्रमा नै विश्वास गर्छ । हामी राजतन्त्रको वचाउ गर्न आएका होइनौं ।" शान्तिपूर्ण राजनीतिक मूलधारमा आएकोमा माओवादीलाई बधाई दिँदै उहाँले सात माओवादी अध्यक्ष प्रचण्डलाई आफूले इमानदारीपूर्वक सम्झौता पालना गर्न अनुरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "माओवादीले हिसाको बाटो छाड्नु राम्रो हो । तर, कब्जा गरिएका सम्पति फिर्तालगायतका प्रतिबद्धता पूरा गर्न भनेको छु ।" साथै प्रचण्डसँग वाइसिएललाई बदनामीको अवसर नदिनुस् भनेको पनि उहाँले स्मरण गर्नुभयो । कार्यक्रममा भारतीय केन्द्रीय सरकारका सूचना तथा सञ्चार राज्यमन्त्री वीरप्पा मोइलीले नेपालका सबै दलहरु एवं निर्वाचन आयोग संविधानसभा निर्वाचन निर्धारित समयमै गराउन प्रतिबद्धत रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, "हामीले सात दलमात्र नभएर सबै दलका नेताहरु एवं निर्वाचन आयोगका पदाधिकारीहरुसित भेट्यौं, अव संविधानसभा निर्वाचन हुनेमा हामी विश्वस्त छौं ।" मधेसीलगायत आन्दोलनरत पक्षसित वार्ता गरेर चाँडै समाधान हुनेमा उहाँ आशावादी हुनुहुन्थ्यो । साथै उहाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री डा मनमोहन सिंह, विदेशमन्त्री प्रणव मुखर्जीको सन्देश दिएको र उहाँको सन्देश आफूहरुले उहाँहरुलाई जानकारी गराउने बताउनुभयो । उहाँले भन्नुभयो, "नेपाल यात्रा सफल रह्यो, हामी सन्तुष्ट छौं, हामी उत्साही भएर र्फकदैछौं ।"उत्तर प्रदेशका सांसद जितेन प्रसादले कठोर राजनीतिक एवं आर्थिक निर्णयलिन जनताको सरकार आवश्यक रहेको धारणा राख्नुभयो । जनअपेक्षाअनुसार शान्ति र विकासका लागि लोकतान्त्रिक र न्यायोचित सरकार आवश्यक रहेको उहाँको भनाइ थियो । साथै उहाँले संविधानसभा निर्वाचनप्रति दलहरुले प्रतिबद्धता जनाएको जानकारी समेत दिनुभयो । उहाँले भन्नुभयो, "चुनावका लागि तर्राई क्षेत्रमा जुन असन्तोष छ, त्यहाँका जायज माग पूरा गरिनु जरुरी छ ।"लोकसभा सदस्य सकिल अहमदले भारतका लागि लोकतान्त्रिक नेपाल आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, "प्रधानमन्त्री कोइराला, एमाले महासचिव माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्ड सबै संविधानसभा निर्वाचनप्रति प्रतिबद्ध हुनुहुन्छ ।" साथै उहाँले तराइमा आन्दोलनरत राजेन्द्र महतो, महन्थ ठाकुरलगायतका नेताहरु पनि चुनावको विपक्षमा नरहेको धारणा राख्नुभयो । संविधानसभा निर्वाचन अगावै मधेसका जायज माग पूरा गरिनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, "नेपाली जनता जे चाहन्छन्, त्यसैअनुसार संविधान बन्ने छ र नेपाल सुखी र सम्पन्न बन्नेछ ।"
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment