Thursday, February 28, 2008

अपहरणकारीका नाईके टण्डन राजधानीमा पक्राउ

२८ फेब्रुअरी, ०८ । नेपालका ठूला ब्यापारिक घरानाका सदस्यलाई अपहरण गरी ठूलो फिरौती असुल गर्ने अन्तर्राष्ट्रिय अपराधी अमर टण्डन र उसको सहयोगी रामकुमार प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीको नेतृत्वमा गठन गरिएको विशेष अनुसन्धान टोलीले बालाजुको माछापोखरीबाट टण्डन र प्याकुरेललाई पक्राउ गरेको हो । पक्राउ परेका टण्डन लागू औषध तस्करीको अभियोग प्रमाणित भई सजाय काटिरहेका अवस्थामा गत वर्षको फागुनमा डिल्लीबजार सदरखोरबाट फरार व्यक्ति हुन् ।आज आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले दिनुभएको जानकारी अनुसार जेलबाट फरार भई भारतको मुम्बईस्थित गोरगाउँमा बस्दै आएका टण्डनले अपहरण गरी फिरौती असुल गर्ने संगठित समूहको निर्माण गरी बिगत एकबर्षदेखि फिरौती असुल गर्दै आएका थिए । उनले अहिलेसम्म २ करोड ६९ लाख रुपैयाँ फिरौती असुल गरिसकेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार टण्डनको समूहले अपहरण गरी ब्यापारीहरु महेश मुरारकाबाट ७७ लाख, गोबिन्द भट्टराईबाट ४० लाख, शिव सरावगीबाट १० लाख, सुमित शेरचनबाट ३० लाख, डाक्टर आसुतोषबाट २५ लाख, पवन अग्रवालबाट २५ लाख, लक्ष्मी नारायणबाट ७ लाख, अनित्य गुरुङबाट २२ लाख ५० हजार, उमेश गर्गबाट ५ लाख ५० हजार, दिलीप अग्रवालबाट ७ लाख र नाम नखुलेको एक ब्यापारीबाट २० लाख रुपैया फिरौती असुल गरिसकेको छ । टण्डनको समूहले बौद्ध, मैजुबहाल, माण्डिखाटार र रुपन्देहीको छपियामा गरी तीन ठाउंमा अपहरण गरी ब्यापारी राख्ने गरेका थिए भने फिरौती रकम हुण्डीमार्फत विदेश पठाउने गरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार अभियुक्तहरुले फिरौतीको रकम हुण्डि गर्न लगाई काठमाडौंबाट हङकङ, दुवई, बैंकक हुँदै भारत पुर्‍याउने गरेका थिए । भारतबाट नेपाल, लक्जम्बर्ग र अमेरिका पठाउने गरेका थिए । टण्डनले फिरौती लिईएको रकम लक्जम्बर्गस्थित रियल डिल कम्पनीमा अमेरिकी नागरिक जान हगलाई पठाउने गरेका थिए । प्रहरी बरिष्ठ उपरीक्षक अर्यालले पींडितहरुले सहयोग नगरेको कारण अभियुक्तहरुले यत्ति ठुलो परिमाणमा फिरौती असुल गर्न सफल भएको बताउनु भयो । अन्तर्राष्ट्रिय लागू औषध तस्करको रुपमा इन्टरपोलद्वारा रेडकर्नर नोटिश जारी भएका टण्डनले डिल्लीबजार सदरखोरमा रहेको बखत मोटरसाईकल चोरीमा रहेका रामकुमार प्याकुरेलसंग चिनजान भई अपहरणको योजना बनाएको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणकारीको बिषयमा जानकारी दिई यस्ता अपराध नियन्त्रणमा सहयोग गर्न सबैसंग आग्रह समेत गरेको छ ।

No comments: