Thursday, February 28, 2008

खुसीको कुरा, सहमति भयो, आन्दोलन फिर

सरकार र आन्दोलन गरिरहेका मधेसी नेताहरुबीच बल्ल कुरा मिलेको छ। आज दुई पक्षबीच ८ बूँदे सहमति भएको छ। सहमति पत्रमा अहिले केही समयपछि हस्ताक्षर हुने कार्यक्रम रहेको छ। आठ बूँदे सहमति पत्रमा सरकारका तर्फबाट प्रमले र मोर्चाका तर्फबाट मोर्चामा आवद्ध तीन संगठनका प्रमुख महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले हस्ताक्षर गर्दैछन्।
सहमतिपछि प्रमले सम्बोधन गर्ने नगर्ने निश्चित भएको छैन। भनिन्छ मधेसी नेताहरुले माअ‍ोवादीसँग शान्ति सहमति भए जस्तो ठूलो कार्यक्रम गरी हस्ताक्षर कार्यक्रम गर्न चाहिरहेका छन्।
जे होस्, अहिलेका लागि खुसीको खबर, आन्दोलन रोकिएको छ र सहमति भएको छ।
सहमतिका बूँदा (Unofficial)
सरकार र संयुक्त मधेसी मोर्चावीच निम्नानुसारको सहमति भएको छ । यस सहमतिलाई संवैधानिक, कानुनी र राजनीतिक तवरबाट कार्यान्वयन गराउने जिम्मेवारी नेपाल सरकारको हुनेछ ।
1 मधेसको शान्तिपूर्ण आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्ने, हालसम्म राहत नपाएका, अङ्गभङ्ग भएकाहरुलाई उचित राहत राज्यले उपलब्ध गराउने छ । यसैक्रममा जारी आन्दोलनमा घाइते भएकाको उपचारसम्बन्धी खर्चको व्यवस्था, मारिएकालाई शहीद घोषणा गरी आश्रित परिवारलाई रु. दश लाखका दरले राहत उपलब्ध गराउने तथा गिरफ्‍तार व्यक्तिहरुलाई यथाशीघ्र रिहा गरिनेछ ।
2. मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना साथै अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका वीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचिको आधारमा गरिने छ । प्रदेशहरु प्रादेशिक सूची अनुसार पूर्णरुपले स्वायत्त र अधिकारसम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अखण्डतालाई अक्षुण्ण राख्दै केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण विवरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।
3.संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७ को उपदफा १४४ मा रहेको २0 प्रतिशतको वर्तमान कानुनी व्यवस्थालाइ ३0 प्रतिशतमा वृद्धि गरिनेछ ।
४ सुरक्षा अंगलगायत राज्यका सबै निकायहरुमा मधेसी, आदिवासी, जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको समानुपातिक प्रतिनिधित्व गर्न गरी सरकारले आगामी नियुक्ति र बढुवाहरु गर्नेछ ।
५. नेपाली सेनालाई राष्ट्रिय र समावेसी बनाउन मधेसी लगायत अन्य समुदायको प्रवेशलाई सुनिश्चित गरिनेछ ।
६. यो सहमतिसँगै नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी राष्ट्रिय मोर्चा तराईमा आन्दोलनरत सबै समूहहरुलाई वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ । यसका साथै आगामी चैत्र 28 गतेको संविधानसभा निर्वाचन शान्तिपूर्ण, हिंसामुक्त, निश्पक्ष्ा स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई अपिल गर्दछौं । यसको लागि तत्कालै अनुकूल वातावरण बनाउन आवश्यक कदम चालिने छ ।
७. सरकार र मधेसी जनअधिकार फोरमवीच भएको २२ बुँदे पूर्व सम्झौता अनुरुप बन्दी राखिएकाहरुको यथाशिघ्र , फोरम लगायत अन्य मधेसी नेता कार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता गर्ने तथा बाँकी सम्झौताका बूँदाहरु अविलम्ब कार्यान्वयन गरिने छ ।
८. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्‍वानमा जारी रहेका आन्दोलनका सबै कार्यक्रमहरु तत्काल प्रभावदेखि फिर्ता लिइएको छ ।
नेपाल सरकारका तर्फबाट
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट
महन्थ ठाकुरअध्यक्ष, तराई मधेस लोकतान्त्रिक पार्टी
राजेन्द्र महतोअध्यक्ष, नेपाल सदभावना पार्टी
उपेन्द्र यादवअध्यक्ष, मधेसी जनअधिकार फोरम

No comments: