Wednesday, February 20, 2008
राजधानीमा तेल भित्रियो, आपूर्ती सहज हुने आशा
२० फेब्रुअरी, ०८ । नेपाल आयल निगमका नायब महाप्रबन्धक बच्चुकुमार काफ्लेले राजधानीमा तेल आयात गरिएको बताउनुभएको छ । उहांले आज विहान एक ट्याङ्कर पेट्रोल, १४ ट्याङ्कर डिजेल र ७ ट्याङ्कर मट्टीतेल थानकोट नाकाबाट उपत्यका भित्रिएको खुलासा गर्नुभयो । 'तेल भित्रने क्रम पुनः सुचारु भएको छ,' काफ्लेले खुलासा गर्नुभयो,'भैरहवाबाट नाकाबाट दुइ दर्जन पेट्रोलिय पदार्थ बोकेका ट्याङ्कर आजै उपत्यका भित्रदैछन् ।' ट्याङ्करहरु उपत्यका भित्रिए लगत्तै डिपोहरुमा पठाईने उहांको भनाई थियो । एक सय २३ वटा ट्याङकर रक्सौल आईपुगेको र भोलिंभित्रै पेट्रोलियम पदार्थ बोकेर राजधानीलगायत प्रमुख शहरहरुमा पुग्ने बताउनुभयो । नेपाल आयल निगमले असहजताका बाबजुद पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न कुनै कसर नराखेको उहांको भनाई थियो । निगमका नायब महाप्रबन्धक काफ्लेले इन्डियन आयल कर्पोरेशनलाई २ अरब ७६ करोड भारतीय रुपियां तिरिएकाले पेट्रोलियम पदार्थ प्राप्त गर्न कुनै कठिनाई नभएको बताउनुभयो । ढुवानीमा समस्या नआए आपूर्ती सुचारु हुने स्पष्ट पार्नुभयो । निगमलाई मासिक ५४ करोड घाटा परिरहेको उल्लेख गर्दै भन्नुभयो,'जस्तोसुकै कठिन घडीमा पनि हामी जनताको सेवा गरिरहेका छौं ।' तराई आन्दोलनका कारण उत्पन्न हुने असहजलाई मध्यनजन गर्दै ट्याङ्कर चालकका लागि ५-५ लाखको जीवन विमा गरिएको बताउनुभयो । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीले तेलको आपूर्ति गर्न नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताको राजीनामा माग्नुभयो । आपूर्तिमन्त्रीको बोली र व्यवहारनै गैरजिम्मेवारीपूर्ण भएको बताउदै भन्नुभयो,'यस्तो गैरजिम्मेवार मन्त्रीको कुनै काम छैन, तत्काल राजीनामा दिनुपर्छ ।' पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघका अध्यक्ष वीरेन्द्रकुमार दासले आयल निगमको अक्षमताले तेलको आपूर्ति असहज बनिरहेको बताउनुभयो । निगमले तेल आपूर्तिको जिम्मेवारी राम्ररी निभाउन नसक्ने भन्दै निजी क्षेत्रलाई जिम्मेवारी दिईनुपर्ने उहांको माग थियो । निजी तथा आवासिय विद्यालय एशोशिएसन प्याब्सनका अध्यक्ष भोजबहादुर शाहले तेल नपाएर राजधानीका निजी विद्यालय बन्द भएको बताउनुभयो । बन्दका कारण मधेशका सबै विद्यालय बन्द हुनुले यस वर्षको शैक्षिक क्यालेन्डरनै प्रभावित हुने बताउनुभयो । उहांले वार्षिक कम्तिमा १ सय ५० दिन पढाई हुनुपर्नेमा यसवर्ष ९० दिन पनि पठनपाठन हुननसकेको बताउनुभयो । यस्तै अवस्था रहे आसन्न एसएलसी परिक्षा पनि प्रभावित हुने शाहको भनाई थियो । ट्रक ट्यांकर तथा परिवहन व्यवसायी संघका अध्यक्ष माधव अधिकारीले सरकारले ढुवानी व्यवसायी र मजदूरको सुरक्षा दिन नसकेको बताउनुभयो । मधेश बन्दका क्रममा तेल आपूर्ति गर्न प्रहरी र सेनाले ट्याङ्कर चलाएर लगेको बताउदै भन्नुभयो,'यसरी कति दिन चल्छ ?' विगतमा भएको तोडफोडको क्षतिपूर्ति नपाएको बताउदै आन्दोलनकारीको तारो आफूहरुनै बन्ने गरेकोमा गुनासो गर्नुभयो । पेट्रोलियम डिलर एशोशियसनका प्रवक्ता विश्वप्रसाद अर्यालले तेलको आपूर्ति नहुंदा आफूहरुको व्यवसायनै धरापमा परेको बताउनुभयो । आपूर्ति नियमित नहुंदा विक्रीवितरण गर्न नपाएकाले घाटा व्यहोर्नु परिरहेको बताउनुभयो । नेपाल आयल निगमले विगतमा पनि तेल आपूर्ति नियमित नगर्दा मर्कामा परेको र पछिल्लो चरणमा पनि तेल नपाईरहेको बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment