Saturday, March 8, 2008

सेनाद्वारा कल्याणकारी कोष सार्बजनिक

८ मार्च, ०८ । नेपाली सेनाले ११ अर्ब १७ करोडभन्दा बढीको कल्याणकारी कोष पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।यो मध्ये १ अर्ब ६९ करोड बेरुजु रकम फर्स्यौट हुन बाँकी रहेको सेनाले जनाएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरेर कल्याणकारी कोषका निर्देशक कुमार बुढाथोकीले वजेट सार्बजनिक गर्नुभएको हो । कल्याणकारी कोष अन्तरगतको रकम स्वास्थ्य, शिक्षा र यातायातको विकासमा खर्च गरिने निर्देशक बुढाथोकीले जानकारी दिनुभयो । अहिलेसम्म कोषमार्फत १७ वटा बाटो बनिसकेको र १७ वटा बाटो निर्माणाधीन अवस्थामा रहेको सेनाले जानकारी दिएको छ ।चैतको पहिलो हप्ताबाट २ वटा बाटोको निर्माण कार्य थालिने कोषका निर्देशक बुढाथोकीले बताउनुभयो । नेपाली सेनाले लेखा परिक्षणपछि पहिलो पटक कल्याणकारी कोष सार्बजनिक गरेको हो । पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले समावेशीको नाममा नेपाली सेनामा राजनीतिमा सक्रिय रहेका व्यक्तिलाई भर्ना नलिने बताउनु भएको छ । नेपाली सेनामा समायोजन हुने कुरा संविधानमा उल्लेख नभएको बताउँदै उहाँले राज्यले अरु क्षेत्रमा भने समावेशीको कुरा उल्लेख गर्न सक्ने धारणा राख्नु भयो ।नेपाली सेना सरकारको निर्देशनमा चल्न तयार रहेको बताउँदै उहाँले महत्वपूर्ण निकायमा सुरक्षा दिन सेना तयार रहेको स्पष्ट पार्नुभयो ।

No comments: