Monday, March 3, 2008
'एकपटक सत्ताको नेतृत्व गर्न देऊ'-प्रचण्ड
पोखरा, १९ फागुन/नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एक पटक नयाँ नेपाल निर्माणको लागि माओवादीलाई सत्ताको नेतृत्व गर्ने अवसर प्रदान गर्न जनतासित अपिल गर्नुभएको छ । मुलुक संविधान सभामय बन्दै गएको सर्न्दर्भमा उहाँले माओवादीलाई नेतृत्व दिन सवैपक्षसित आग्रह गर्नुभएको हो । 'नयाँ नेपालको निर्माणको जिम्मा एकपटक माओवादीलाई दिनोस ।' माओवादी अध्यक्ष प्रचण्डले पोखराको नयाँबजारमा अवस्थित रेडियो गण्डकीको आइतबार उदघाटन गर्दै भन्नुभयो-'जनताले अवसर दिनुपर्छ, हाम्रो अपिल छ ।' राजनीतिक क्रान्ति टुंगोमा नलागिसकेको संकेत गर्दै उहाँले संविधान सभाको चुनावले राजनीतिक क्रान्तिको टुंगो लगाउने छ ।पोखराको अत्यन्तै व्यस्त सडक नयाँ बजारको सडक खण्ड जाम नै गरेर गरिएको उक्त उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको राजनीतिक क्रान्ति सधै सम्झौतामा टुंगिएको स्वीकार्दै अब कुनैपनि सम्झौतामा नआल्झिने बताउनुभयो । 'राजनीतिक क्रान्ति सधै सम्झौतामा टुंगिएको छ ।' उहाँले भन्नुभयो-'अब पुर्णता दिनुपर्ने समय आएको छ ।' २००७ सालदेखि नै सम्झौता गरिदैं घोका खाँदै आएको प्रसंग कोट्याउँदै अध्यक्ष प्रचण्डले चुनावले नै राजनीतिक क्रान्तिलाई पुर्णता दिने ठोकुवा गर्नुभयो । सूचनामाथिको अधिकार सुनिश्चित गर्न अझै बाँकी रहेको उल्लेख गर्दै उहाँले राजनीतिक क्रान्तिको पुर्णताले उक्त अधिकार स्थापित हुने र आर्थिक क्रान्तिको लागि बाटो खुल्ने अभिव्यक्ति दिनुभयो । उहाँले सूचनामाथि जनताको अधिकार स्थापित हुन सकेको छैन भन्दै पुँजीपतिहरुको हातमा केन्द्रीत रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले विचार र राजनीतिकको मात्र सम्बन्ध नभएको दावी गर्दै संविधान सभाको लागि माओवादीको रगतको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । 'संविधान सभासित माओवादीको रगतको सम्बन्ध छ ।' उहाँको भनाई थियो-'विचार र राजनीतिकको मात्र सम्बन्ध होइन ।' रगतको सम्बन्ध रहेको संविधान सभाको चुनावलाई फेरी कुनै शक्तिले टुटाउने होकि भन्ने चिन्ता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नयाँ नेपाल निर्माणको लागि ४० वर्षो योजना मओवादीले अघिसारेको बताउनुभयो । ल्हासासम्म आइपुगेको रेल मार्गलाई काठमाडौंहुदै पोखरासम्म जोड्ने, पोखरामा हवाई अड्डा बन्नुपर्ने र पर्यटन प्रवर्द्धन गर्न जस्ता तीन आधारभूत कुराहरु उब्जाउँदै त्यसको पुरा गर्न माओवादीलाई एकपटक सत्तामा पुर्याउन आग्रह गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले बोल्ने क्रममै लोडसेडिङ भएको थियो । केहीबेरको विश्राम पछि पुन बोल्न शुरु गर्नुभएका प्रचण्डले दोस्रोपटक समेत विद्युत कटौतीको समस्या उत्पन्न भएको थियो । तेस्रो पटकमा उहाँले सम्बोधन पुरा गर्नुभएको थियो । माघ २७ गतेदेखि परिक्षण प्रसारण शुरु गरेको रेडियो गण्डकीले आइतबारदेखि विधिवत रुपमा उदघाटन गरिएको हो । रेडियोले परिक्षण प्रसारणकै क्रममा समाचार समेत सम्प्रेषण गर्दै आएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment