जिल्ला शिक्षा कार्यालय, काठमाडौंद्वारा सञ्चालित कक्षा ८ को जिल्लास्तरीय परीक्षामा बुधबार वितरित नेपाली विषयको प्रश्नपत्रमा सतासीवटा त्रुटि भेटिएका छन् । प्रश्नपत्रमा बग्रेल्ती व्याकरणीय र भाषिक त्रुटिका साथै विद्यार्थीलाई अल्मल्याउने खालका गम्भीर प्राविधिक गल्तीसमेत छन् ।
अधिकांश शब्द अशुद्ध र भाषिक संरचना पनि नमिलेको सम्बन्धित शिक्षकहरू बताउँछन् । तीन पृष्ठको प्रश्नपत्रको पहिलो पृष्ठमै ५२ वटा साना-ठूला गल्ती छन् ।
प्रश्नपत्रमा 'फ्लोरेन्स'लाई 'फलोरेन्स', 'त्यहाँ' लाई 'त्यहा', 'प्राकृतिक'लाई 'प्रकृतिक', 'सांस्कृतिक'लाई 'सास्कृतिक', 'दिइएका'लाई 'दिइइएका', गर्नुहोस्लाई 'गनुहोस्' जस्ता अनेकौं अशुद्ध शब्द छन् ।
दोहोरिएका उही शब्दमा पनि फरक-फरक हिज्जे प्रयोग गरिएको छ । 'हामी' तीन ठाउँमा ह्रस्व (हामि) लेखिएको छ ।
त्यस्तै, प्रश्न नम्बर १४ मा 'कोष्ठकबाट उपयुक्त शब्द छानी खाली ठाउँ भर्नुहोस्' भनी सोधिएका सातवटा प्रश्नमध्ये दुईवटामा अनावश्यक खाली ठाउँ राखिएको छ । ती प्रश्न यस्ता छन् ः ग. .......श्रुतिसमभिन्नार्थक शब्द हुन्........। (उक्ति-सूक्ति, ठूलो-सानो, फूल-फुल) घ. .......अनेकार्थी शब्द हो......। -रहर, बगर, बहर) जिल्लाभरका तीस हजार विद्यार्थीलाई बाँडिएको प्रश्नपत्रमा यति धेरै गल्ती देखिनु जिशिकाको 'चरम लापरबाही' भएको आरोप शिक्षक, विद्यार्थीले लगाएका छन् ।
'यो प्रश्नपत्र व्याकरणिक तथा भाषिक कुनै पनि दृष्टिबाट हेर्दा विद्यार्थीलाई दिन लायक देखिन्न । यस्तो प्रश्नपत्रबाट कस्तो उत्तरको अपेक्षा गर्नु ?' बुद्धनगरस्थित रोजबड स्कुलका नेपाली विषय-शिक्षक दामोदर ढुंगानाले भने । सरकारी निकायबाट नेपाली भाषालाई गरिएको उपेक्षा यसबाट छर्लंग भएको टिप्पणी गर्दै उनले गल्तीको छानबिन गरी जिम्मेवार व्यक्तिलाई कारबाही गर्न मागसमेत गरे ।
विद्यार्थीहरूले पनि जिशिकाको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन् । 'प्रश्नै यस्तो अशुद्ध छ भने उत्तर कसरी शुद्ध लेख्न सकिन्छ ?,' चाबहिलस्थित बाबा बोर्डिङ हाईस्कुलकी परीक्षार्थी कमला अधिकारीले प्रश्न गरिन् ।
जिशिकाले अघिल्ला वर्षहरूमा पनि यस्ताखाले गल्ती गर्ने गरेको शिक्षकहरू बताउँछन् ।
यस सम्बन्धमा बुझ्न खोज्दा निमित्त जिल्ला शिक्षा अधिकारी लीलामणि पोखरेलले आफूलाई यसबारे केही थाहा नभएको बताउँदै यसको पुष्टि भएमा जिल्लास्तरीय परीक्षासमितिले आवश्यक निर्णय गर्ने बताए ।
परीक्षा-शाखाका अधिकृत नारायण न्यौपानेले भने यस सम्बन्धमा कुनै गुनासो नआएको बताउँदै भने, 'सकेसम्म त्रुटि नभेटियोस् भनेर सम्बन्धित विषय-विशेषज्ञद्वारा राम्ररी रुजु गराइएको हो । कसरी त्यस्तो भएछ त ?'
विषय-विशेषज्ञ धनञ्जय शर्माले वर्णविन्यासमा अत्यधिक गल्ती देखिएको स्विकारे । उनले प्रश्नपत्रलाई परिमार्जित गरेर दिएपछि फेरि आफूलाई नदेखाइएको र बुधबार प्रश्नपत्र हेरेपछि मात्र आफूले गल्ती देखेको प्रतिक्रिया दिए ।
'मैले परिमार्जन गरेको पाण्डुलिपिमा कुनै गल्ती थिएन, तर छाप्दाखेरि प्रुफ हेर्न जान्ने भाषा-विशेषज्ञलाई देखाएनन् जस्तो छ,' उनले भने ।
शिक्षा मन्त्रालयका सचिव बालानन्द शर्माले यस विषयमा आफूलाई थाहा नभएको बताउँदै गम्भीर गल्ती भएमा परीक्षा सञ्चालन बोर्डले मान्यता नदिन सक्ने जानकारी गराए ।
Thursday, March 6, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment