Monday, March 3, 2008
वामदलबिच तालमेल हुन्छः मन्त्री गुरुङ
मार्च, ०८ । स्थानिय विकास मन्त्री देव गुरुङले संविधान सभा निर्वाचनमा वामदलबिच तालमेल हुने बताउनुभएको छ । आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाम तालमेलका लागि भईरहेको गृहकार्य अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।'वामदलबिच तालमेल प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ,' नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहनुभएका गुरुङले भन्नुभयो,'हामी राजावादीलाई हराउन केन्द्रित हुनेछौं ।' नेकपा एमाले र जनमोर्चा नेपालसंग तालमेल हुने सम्भावना रहेको उहांको भनाई थियो । व्यवहारिक तालमेलका लागि आन्तरिक गृहकार्य सकारात्मक रहेको बताउनुभयो । नेपाली कांग्रेसभित्रका गणतन्त्र पक्षधरसंग सहयोग आदानप्रदान हुनसक्ने बताउदै विचारका आधारमा व्यवहारिक तालमेल हुने बताउनुभयो । यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य शंकर पोखरेलले वामदलबिच तालमेल नहुने बताउनुभएको छ । एमाले देशभर एक्लै चुनावी प्रतिष्पर्धा गर्न सक्षम छ भन्दै पोखरेलले भन्नुभयो,'एमाले अन्य वामदलसंग तालमेल गरेर जादैन, कांग्रेससंगको तालमेल झन् व्यवहारिक हुदैन ।' लोकतन्त्रका पक्षधरलाई शून्यको अवस्थामा पुर्याउने पक्षमा नभएकाले व्यवहारिक रुपमा सहयोग गर्न सकिने बताउनुभयो । प्रचण्डलाई चुनाव जिताउन सघाउनुहुन्न भन्ने प्रश्नमा पोखरेलको भनाई थियो,'व्यक्तिको कुरा हैन । एमाले काठमाडौं क्षेत्र नं १० मा चुनाव जित्न सक्षम छ ।' राजतन्त्रवादी कहीं कतैबाट जित्ने अवस्था उत्पन्न भएमा भने अन्य दलसंग सहयोग आदान-प्रदान हुनसक्ने बताउनुभयो । नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले लोकतन्त्रका पक्षधरसंग तालमेल हुनसक्ने बताउनुभयो । व्यवहारिकरुपमा तालमेल गरी सबैको सहभागितालाई सुनिश्चित गर्न कांग्रेस गम्भीररुपमा लागेको उहांको भनाई थियो । दलित जनजाति पार्टीका अध्यक्ष विषेन्द्र पासवानले तराईमा सशस्त्र संघर्षरत समूहहरु चुनावमा भाग लिने बताउनुभयो । राज्यले चुनावमा सहभागी बनाउने वातावरण बनाउनुपर्नेमा उहांको जोड थियो । तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह र जयकृष्ण गोइतसंग सुमधुर सम्बन्ध रहेका पासवानले खुलासा गर्नुभयो,'सरकार र सशस्त्र समूहबीच नियमित सम्पर्क भइरहेको छ । तराइ मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीकृष्ण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरसंग चुनावी तालमेल हुने बताउनुभयो । चुनावमा मधेशवादीहरु एकतावद्ध हुने उहांको भनाई थियो ।जनमोर्चा नेपालका महासचिव घनश्याम शर्मा पौडेल वाम दलबीच तालमेल हुने बताउनुभयो । वामपन्थी दलले एक्लै चुनावमा जानखोजे मतविभाजन भई अन्य पक्षलाई फाइदा पुग्नसक्ने उहाँको भनाइ थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment