Saturday, March 1, 2008

मोर्चाको आह्वानमा फेरी लाहान बन्द

सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबिच हिजो आठबुंदे सम्झौता भएलगतै १६ दिनदेखिको मधेस आन्दोलन फिर्ता भएपनि पूर्वी पहाड र तराईमा आन्दोलनरत गणतान्त्रिक राष्ट्रिय मोर्चाले आफ्नो अनिश्चितकालिन आम हडताललाई निरन्तरता दिएका छन् । सोही क्रममा आज विहानदेखि सिरहाको लहान बजार र पूर्व पश्चिम राजमार्गको लहान खण्डमा यातायत बन्द गराएको छ । सरकार र मधेसी मोर्चाबीच सम्झौता भएपछि आज विहान बजार खुलेपनि मोर्चाका कार्यकर्ताहरुले ११ बजेबाट बजार पुनः बन्द गराएका हुन् । उनीहरुले पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध गर्नुका साथै राजमार्गमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । गणतान्त्रिक राष्ट्रिय मोर्चाका कार्यकर्ताहरुले लहान बजार बन्द गराउने क्रममा दर्जनौं पसलमा तोडफोड समेत गरेका छन् । बजारका पसलहरुमा तोडफोड गर्दै हिडेका मोर्चाका दुई कार्यकर्तालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकार बिचको हिजो वार्ता असफल भएपछि मोर्चका कार्यकर्ताहरुले बन्दलाई निरन्तरता दिएको दलित जनजाति पार्टीका केन्द्रीय कोषाध्यक्ष डिल्ली मिझारले बताउनुभयो । मिझारले आफूहरुको माग पुरा नभएसम्म बन्द नखोलिन समेत जानकारी गराउनुभयो । मोर्चामा मधेसी जनअधिकार फोरम मधेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीइ लिम्बु राज्यपरिषद, तामाङ्गसालिङ्ग स्वायत्त राज्यपरिषद, दलित जनजाति पार्टी, थारुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका ८ वटा संगठनहरु छन् । मोर्चाले फागुन १ गतेबाट अनिश्चितकालिन आम हडतालको घोषणा गरेका थिए । गणतान्त्रिक राष्ट्रिय मोर्चामै सम्बद्ध थारु राष्ट्रिय मोर्चाका कार्यकर्ताहरुले बजार बन्द गराउने क्रममा तोडफोडमा उत्रेपछि स्थानीय व्यापारीहरुले प्रतिकार गर्दै बजार खुलाउन समेत सुरु गरेका छन् । बजार बन्द गर्ने र खोलाउने क्रममा गणतान्त्रिक राष्ट्रिय मोर्चा र व्यापारीहरु बिच ठाउँ-ठाउँमा झडप समेत भएकोले सिरहाको लहान तनाबग्रस्त बनेको छ । यसैबीच, अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाजागाजाका साथ बिजय जुलुश निकालेका छन् । जुलुश विभिन्न नारका साथ लहान नगर परिक्रमा गरिरहेका छन् ।

No comments: