Monday, March 17, 2008

काठमाडौं र तराईमा चाखलाग्दो चुनावी भीडन्त

काठमाडौं। चैत २८ गते हुने संविधानसभा सदस्यको निर्वाचनमा यस पटक अनौठो दृश्य देखिने भएको छ।सैद्धान्तिकरूपमा पृथक् विचार र बाटो भएका दलका उम्मेदवार निर्वाचनमा एक-अर्कामा टकराउनु स्वाभाविकै हो तर यस पटक मधेस/तराईमा सजातीय र सगोत्रीबीच प्रतिस्पर्धा हुने स्थिति आएको छ। स्थिति कतिसम्म जटिल बनेको छ भने अहिले केही निर्वाचन क्षेत्रमा जो-जो व्यक्ति प्रत्याशी बनेका छन्, ती सबै संविधानसभाका लागि आवश्यक छन्। एउटै निर्वाचन क्षेत्रमा प्रत्याशी बनेकाले आवश्यक र योग्य भनिएका र मानिएका व्यक्तिहरूले संविधानसभाको भर्याङ नउक्लिने भएका छन्।काँग्रेस र मधेसवादी पार्टीका सन्दर्भमा स्थिति जटिल देखिएको छ। सुनसरी-५ जहाँबाट बिनाविभागीयमन्त्री सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ, त्यहीँ गएर मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ। यादव र सुजाताको भोट बैंक एउटै भएकाले दुवैको भविष्य अनिश्चित बनेको छ। र, यसबाट एमालेलाई फाइदा पुग्ने सम्भावना बढेको छ। दिल्ली दरबार र कोइराला निवासको राजनीति गर्दै अहिले जनताको राजनीति गर्न भनी निर्वाचनमा उम्मेदवारी दिएका स्व. नोना कोइरालाका छोरा शेखर कोइरालालाई पनि पहिलो गाँसमै ढुङ्गा लागेको छ। डा. शेखरलाई माओवादीको न्यानो र सार्थक सहयोग पुग्न सक्ला तर विजयकुमार गच्छेदारको उम्मेदवारी उनका लागि फलामको च्यूरा सावित हुने भएको छ। कोइराला निवासका उत्पादन नेता गच्छेदारले मधेसी जनअधिकार फोरमबाट मोरङमा उम्मेदवारी दर्ता गराउनुभएको छ। चुनावी राजनीतिमा डा. शेखरले विजय गच्छेदारलाई कुनै हालतमा भेट्न सक्ने सम्भावना छैन। उता, सर्लाहीमा पनि गजबको स्थिति बनेको छ। एउटै झोलीका चट्टाबट्टा महन्थ ठाकुर र अमरेशकुमार सिंह सर्लाही-६ मा भीडन्तमा उत्रिएका छन्। दुवैको भोट बैंक एउटै रहेको छ। सर्लाहीमा नै स्थापित नेता रामचन्द्र रायसँग कुस्ती खेल्न हाल आवादी नेता नेसपा महतो समूहका राजेन्द्र यादव मैदानमा उत्रिएका छन्। यो क्षेत्रमा रामचन्द्र रायको विजय सुनिश्चित भएसरह भएको छ। राजेन्द्र महतोको क्षेत्र यसअघि २ नं. क्षेत्र थियो।काठमाडौंमा पनि रमाइलै भएको छ। एमालेका प्रदीप नेपाल र काँग्रेसका प्रकाशमान सिंह एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएका छन्। सहरिया प्रकाशमान सिंह आफ्नो जन्मथलो र कर्मथलो छाडेर काँठतिर हानिनुभएकाले उहाँको राजनीतिक भविष्यलाई काँठले अन्योलग्रस्त बनाएको छ। काँग्रेसका खरा गणतन्त्रवादी नेता नरहरि आचार्य र एमालेका ईश्वर पोखरेल एउटै क्षेत्रबाट प्रतिस्पर्धी भएकाले आचार्य र पोखरेलमध्ये एक जनाले टिकट काट्ने अवस्था आएको छ। संविधानसभामा खरा र खतरा गणतन्त्रवादी चाहिएको अवस्थामा सम्भवतः महान् गणतन्त्रवादी नेता नरहरि आचार्यले 'हरि' को उपाधि झिकेर राजनीतिमा 'नर' मात्र बनेर बस्नुपरेमा आर्श्चर्य नहुने भएको छ।

No comments: